बेलायतबाट एक लाख ३१ हजार डोज एस्ट्राजेनेका खोप आउने


काठमाडौँ, १० भदौ । बेलायत सरकारले नेपाललाई एक लाख ३१ हजार डोज कोभिडविरुद्धको खोप उपलव्ध गराउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार बेलायतले एस्ट्राजेनेका खोप उपलव्ध गराउने तयारी गरेको हो ।

‘खोप सहयोग गर्ने बारेमा औपचारिक जानकारी आईसकेको छैन तर अनौपचारिक जानकारी आएको छ । सम्भवत केही दिनमा काठमाडौँस्थित बेलायती दुतावासले त्यसको औपचारिक जानकारी दिन्छ होला। अनौपचारिक रुपमा खोप अगष्ट महिना भित्रै उपलव्ध गराउने कुरा थियो । तर अहिलेसम्म घोषणा नहुँदा अगष्ट महिनामा आउन गाह्रो होला कि ?,’ मन्त्रालय स्रोतले भन्यो ।

कोभिडविरुद्धको अभियानमा बेलायतले अन्य स्वास्थ्य सामग्री सहयोग गरे पनि खोप सामग्री सहयोग गरेको थिएन ।

मन्त्रालयका अधिकारीहरुले खोपको मात्रा बढाउनका लागि औपचारिक घोषणा गर्न ढिलाई भएको हो कि भनेर आशंका समेत गरेका छन् ।
‘एक लाख ३१ हजार डोज भनेको अलि सानो संख्या हो । बेलायतले यसलाई बढाउने तयारी गरेको हो कि,’ एक अधिकारीले भने ।

नेपालमा खोप अभाव भइरहँदा राष्ट्रपति विद्यादेवी भण्डारीले समेत बेलायती महारानीलाई चिठी लेखि खोप सहयोग गर्न आग्रह गरेकी थिइन ।

नेपाललाई भारतले ११ लाख डोज कोभिसिल्ड, चीनले ३४ लाख डोज भेरोसेल, अमेरिकाले १६ लाख डोज जोन्सन एण्ड जोन्सन, जापानले १६ लाख डोज एस्ट्राजेनेका, भुटानले २ लाख ३० हजार डोज एस्ट्राजेनेका खोप सहयोग उपलव्ध गराएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *