खुदुनाबारीका ६७ विपन्न परिवारको स्वास्थ्य बीमाको दर्ता शुल्क बीएण्डसीले तिरिदियो

झापा, ५ भदौ । बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेज शिक्षण अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पतालले ६७ जना विपन्न परिवारलाई आफ्नो आर्थिक सहयोगमा स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गराएको छ । बीएण्डसीले जिल्लाको अर्जुनधारा नगरपालिका २ र ३ का विपन्न नागरिकलाई आफैले प्रिमियम (दर्ता शुल्क) तिरिदिएर बीमा कार्यक्रममा आवद्ध गराएको हो ।

खुदुनाबारीमा शनिबार विहान आयोजित कार्यक्रममा बीएण्डसीका अध्यक्ष इन्दिरा गिरी र कार्यकारी निर्देशक दुर्गा प्रसाईले सयुक्त रुपमा विपन्न परिवारका प्रतिनिधिलाई बीमा कार्यक्रममा आवद्ध भएको दर्ता प्रमाणपत्र हस्तान्तरण गरे । सो अवसरमा उनले यसवर्ष बीएण्डसीले एक हजार जना विपन्नको दर्ता शुल्क तिरिदिने घोषणा समेत गरेका थिए ।

‘स्वास्थ्य बीमा कार्यक्रम ७५ जिल्लामा लागू भएको छ । झापामा सुरु भएको पनि धेरै भइसक्यो । तर अहिलेसम्म यहाँ विमामा आवद्ध हुनुपर्छ भन्ने समेत थाहा थिएन । आवद्ध हुन मन गर्नेले दर्ता शुल्क तिर्न सक्ने अवस्था रहेनछ । यो थाहा पाएपछि सामाजिक उत्तरदायित्व अन्तरगर्त बीएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालले विपन्नको प्रिमियम तिर्ने घोषणा गरेका हौँ,’ कार्यकारी निर्देशक प्रसाईंले भने ।

उनले बीमा कार्यक्रम पनि हुने खानेको पहुँचमा मात्रै पुगेको र गरीव तथा विपन्न नागरिकको पहुँचमा अझै पुग्न नसेको बताए । उनले आफू भने गरीब तथा विपन्न नागरिकलाई सहज स्वास्थ्य पहुँच पुगोस भन्नका लागि रात दिन लागि रहेको भन्दै, चिन्ता नलिन आग्रह गरे । ‘तपाईँहरुको साथमा दुर्गा प्रसाईँ छ । कत्ति नआत्तिनुहोस, उपचार गर्न आउनुहोस्,’ उनले भने ।

कार्यक्रममा संविधानसभा सदस्य प्रेम गिरीले दाउरा बिक्री गर्ने, ज्यामी काम गर्ने, गिटी बालुवा बोग्ने विपन्न बर्गका मजदुरहरुलाई बीमाका आवद्ध गरी बीएण्डसीले पुन्य काम गरेको बताए । उनले बीमामा आवद्ध भएपछि गरीब तथा विपन्नलाई उपचारमा निकै नै राहत पुग्ने भन्दै बीएण्डसीको सराहाना गरे ।

अहिले दर्ता भएका नागरिकहरुले आगमी मंसिर देखि स्वास्थ्य सेवा पाउने छन् । अहिले स्वासथ्य बीमा कार्यक्रम काठमाडौँ उपत्यकाका ललितपुर र काठमाडौँ बाहेकका ७५ वटै जिल्लामा लागू भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *