परीक्षा दिने तयारीमा रहेका ६० हजार विद्यार्थीलाई पहिले खोप दिन पाँच विद्यार्थी संगठनको माग

काठमाडौँ, २५ साउन । पाँच विद्यार्थी संगठनले परीक्षा दिने विद्यार्थीका लागि खोप उपलव्ध गराउन सरकारसंग माग गरेको छ । सोमबार पाँच विद्यार्थी संगठनले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटी सो माग गरेका हुन् ।

उनीहरुले कोरोना संक्रमण बढी रहेका बेला त्रिभुवन विश्वविद्यालय लगायत विभिन्न विश्वविद्यालयले परीक्षा सञ्चालन गर्ने सूचना जारी गरेको भन्दै परीक्षा अघि नै सबै विद्यार्थीलाई खोप उपलव्ध गराउन आफूहरुले माग गरेको नेवि संघका महामन्त्री युवराज पाण्डेले जानकारी दिए ।

उनले भने, ‘कक्षा १२ को स्थगित भईहाल्यो । अब परीक्षा दिने क्रममा विभिन्न संकाय र तहका गरी ६० हजार बढी विद्यार्थीहरु रहेछन् । उनीहरुलाई खोप दिएर मात्रै परीक्षा दिने व्यवस्था गर्नुपर्छ भन्ने हाम्रो माग थियो । किनभने विद्यार्थीलाई परीक्षाको तनावसंगै कोरोना संक्रमणको तनाव पनि थपिने भयो । हामीले यहि कुराको ध्यानाकर्षण गराएका हौँ ।’

उनले परीक्षा स्थगित गरेर मात्रै समस्या समाधान नहुने भन्दै सुरक्षात्मक ढंगले परीक्षा सञ्चालन गर्नु नै आवश्यक रहेकोमा समेत विद्यार्थी संगठनका प्रंतिनिधिले जोड दिएको स्पष्ट पारे ।

विद्यार्थीहरुसंगको छलफलमा राज्यमन्त्री श्रेष्ठले आफूलाई दुई दिन समय दिन भनेका छन् ।

‘यो सम्वेदनशील विषय हो । तपाईँहरुले सही कुरा ल्याउनु भएको छ । मलाई दुई दिन समय दिनुस् । केही न केही निस्कर्ष निस्कन्छ,’ राज्यमन्त्रीको भनाई उदृत गर्दै महामन्त्री पाण्डेले भने ।

छलफल अघि पाँच विद्यार्थी संगठनले सानो ज्ञापन पत्र समेत बुझाएका थिए । ज्ञापनपत्रमा नेविसंघका अध्यक्ष राजिव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेराश्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका रुपनारायण श्रेष्ठ र अखिल छैटौंका अध्यक्ष विमल पोखरेलको हस्ताक्षर रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *