शनिबार देखि सप्ताहव्यापी रुपमा नेपाल मास्क अभियान सुरु हुँदै

काठमाडौँ, २२ साउन । सरकारले २३ साउन (भोलि) देखि २९ साउनसम्म नेपाल मास्क अभियान सुरु गर्दैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले सप्ताह व्यापी रुपमा मास्क अभियान सुरु गर्न लागेको हो ।

अभियानको नारा ‘#मजिम्मेवारनेपाली’ दिईएको छ ।

केन्द्रकी निर्देशक डा राधिका थपलियाका अनुसार कोरोना भाइरसको बढ्दो संक्रमण र सम्भावित तेस्रो लहरबारे सबैलाई सचेत बनाउन र कोरोना रोकथाममा मास्कको महत्व थप बुझाउनका लागि अभियान सुरु गरिएको हो ।

मास्क प्रयोगको महत्व बुझाउँदै व्यवहार परिवर्तनका लागि प्रोत्साहन र उत्प्रेरित गर्ने उद्देश्यले यो सप्ताह मनाउन लागिएको हो। मास्कको प्रर्वधनसम्बन्धी हप्ताभरि संकलन गरिएका विषयवस्तु र सचेतनामूलक सामग्रीहरु आउँने महिना र वर्षभर प्रयोग गरिने छ। यो अभियान सात दिनको मात्रै होइन। यो बेला हामीले संकलन गरेका तथ्याङ्क वर्ष भरी नै प्रयोग गरिने छ’, उनले भनिन्।

नयाँ भेरियन्ट, खुकुलो निषेधाज्ञा, जनस्वास्थ्य मापदण्डको उल्लंघन जस्ता कारणले पुन संक्रमण फैलदै गएको भन्दै उनले सबै नागरिकलाई मास्क अनिवार्य रुपमा लगाउन यस कार्यक्रममो मुख्य उदेश्य रहेको बताइन ।

केन्द्रकी बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक शिला श्रेष्ठले मास्क लगाउनुको महत्व कति छ भनेर आम सर्वसाधारण बुझाउन र अनिवार्य लगाउने बाताबरण सिर्जना गर्नका लागि अभियान सुरु गर्न लागेको बताइन ।

उनले भनिन्,‘कोरोनाको संक्रमण बढ्दै गएका कारण मास्कको महत्व बढ्दै गएको छ। निषेधाज्ञा खुकुलो भएपछि सबैले स्वास्थ्यका मपदण्डको प्रयोग गर्न छोडिएका छन्। मास्कको महत्व बुझाउँदै बढ्दै गरेको कोरोना संक्रमण र तेश्रो लहरबारे सबैमा सचेत गराउँदै सबै नागरिकलाई सामाजिक उत्तरदायित्वबोध गराउनका लागि यो अभियान सुरु गरिएको हो।’

मास्कलाई किन महत्व दिने ?
श्रेष्ठका अनुसार कोभिड–को जोखिम यथावत नै छ। दैनिक रुपमा संक्रमण दर उकालो चढिरहेको छ। तर मानिसहरु संक्रमणलाई लिएर डरको भावना कम हुँदै गएको छ।

कोभिड–१९ को जोखिम अझै रहेका कारण सहि तरिकाले मास्क नलगाउदा आफू संक्रमित हुँनका साथै अन्य व्यक्तिलाई समेत संक्रमण सार्ने सम्भावना उच्च हुने उनले बताईन्।

श्रेष्ठले भनिन्,‘विशेषगरि ग्रामीण तथा शहरको बाहिरी भेगका प्रायः मानिसहरुले सही तरिकाले मास्क नलगाउने र कतिपयले त मास्क नै नलगाउने गरेको पाइएको छ। कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने एउटा माध्यम भनेको हामीले बोल्दा, खोक्दा, गीत गाउँदा, हाँच्छ्यू गर्दा निस्कने स–साना छिटाहरूबाट हो। त्यसैले मास्कको सहि प्रयोगले मात्र संक्रमण फैलावट रोक्न सक्छ। त्यसैले मास्क लगाउनु अनिवार्य छ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *