प्रसूति सेवामा अब्बल पाँचथर अस्पताल, छिमेकी जिल्लावासीसमेत लिन्छन् सेवा

पाँचथर २१ साउन । पाँचथर जिल्ला अस्पतालले प्रसूति सेवामा अब्बल सेवा प्रदान गर्दै आएको छ। विगतका तीन आर्थिक वर्षमा यस अस्पतालले बर्सेनि एक हजारभन्दा बढी महिलालाई सुत्केरी गराएको छ। यस अस्पतालले प्रसूति सेवा दिएका महिलाको सङ्ख्यामा बर्सेनि वृद्धिसमेत भइरहेको छ।

यस्तै शल्यक्रियामार्फत सुत्केरी गराइएको सङ्ख्यासमेत वार्षिकरूपमा वृद्धि भइरहेको अस्पतालको तथ्याङ्कले देखाउँछ। आर्थिक वर्ष २०७५–०७६ मा यस अस्पतालले एक हजार ९८ महिलालाई सुत्केरी गराएको थियो। तीमध्ये १४३ जनाको शल्यक्रिया गरिएको थियो। यस्तै आव २०७६–०७७ मा अस्पतालले एक हजार १७८ महिलालाई सुत्केरी गराएको थियो। तीमध्ये १८३ को शल्यक्रिया गर्नुपरेको थियो।

कोभिड–१९ सङ्क्रमणको महामारी र अप्ठ्यारोका बाबजुद गत आव २०७७–०७८ मा यस अस्पतालमा सुत्केरी गराउने तथा शल्यक्रिया गर्नुपर्ने महिलाको सङ्ख्यामा झनै वृद्धि भएको देखिन्छ। गत आवमा यस अस्पतालमा एक हजार ३७४ महिलाको सुत्केरी गराइएको छ। तीमध्ये ३२० को शल्यक्रियामार्फत प्रसूति गराइएको पाँचथर जिल्ला अस्पतालका मेडिकल रेकर्ड अधिकृत नारायण जोशीले जानकारी दिए।

प्रसूति सेवा तथा शल्यक्रियामार्फत प्रसूति सेवा लिने महिला पाँचथर जिल्लाका मात्रै छैनन्। अघिल्ला दुई आवको तथ्याङ्क प्राप्त नभए पनि गत आवमा शल्यक्रियामार्फत प्रसूति गराइएकामध्ये २२ प्रतिशत महिला जिल्ला बाहिरका छन्। गत आवमा ३२० आमाको शल्यक्रियामार्फत प्रसूति गराइएको थियो। तीमध्ये ५१ ताप्लेजुङका, १८ तेह्रथुमका र तीन जना इलामका थिए। यस्तै बिना शल्यक्रिया प्रसूति गराइएकामध्ये ताप्लेजुङका ८१ र तेह्रथुमका ७९ जना रहेको अस्पतालको तथ्याङ्कले देखाएको छ।

विगत एक दशकदेखि प्रसूतिका लागि ख्याति कमाएको पाँचथर जिल्ला अस्पतालमा अहिले शल्यक्रियामार्फत प्रसूति गराउन सक्ने दुई जना विशेषज्ञ (एमजीडीपी) चिकित्सक छन्। यस्तै एक जना एड्भान्स एसपिए तालीम लिएका चिकित्सकसमेत सेवामा छन्। “अहिलेसम्म सहजरूपमै प्रसूतिको सेवा दिँदै आएका छौँ” अस्पतालका सूचना अधिकारीसमेत रहनुभएका मेडिकल रेकर्ड अधिकृत जोशीले भने, “कोभिड–१९ का बिरामीको उपचारका लागि एचडियुसमेत अस्पतालमै सञ्चालनमा रहेकाले अहिले भने जनशक्तिको अभाव भएको छ।”

प्रसूति सेवामा दशकभन्दा लामो समय अघिबाट पाँचथर अस्पतालले उत्कृष्ट सेवा दिँदै आएको छ। स्त्रीरोग विशेषज्ञ डा.पवनजङ्ग रायमाझीले जिल्ला अस्पतालबाट सेवा दिएपछि पाँचथर अस्पताल प्रसूतिका लागि देशमै कहलाएको थियो। त्यसपछि पनि स्त्रीरोग विशेषज्ञ डा पवन शाह र अहिले डा.बुद्धिबहादुर थापाले जिल्ला अस्पतालको नेतृत्व गरी सेवा दिँदै आएका छन्। “पाँचथर अस्पतालले एउटा जिल्ला अस्पतालका रूपमा नभई क्षेत्रीय अस्पतालका रूपमा पाँचथरसहित इलाम, तेह्रथुम र ताप्लेजुङका जनतालाई सेवा दिँदै आएको छ”, अस्पताल सञ्चालक समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाले भने। “त्यसैले पाँचथर अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा विकास गर्न निरन्तर प्रयासरत छौँ।”

अस्पतालमा अहिले ६ जना चिकित्सक सेवामा रहे पनि एक जना आउँदो भदौमा विदा हुँदैछन्। तत्कालै मेडिकल अधिकृत तीन जना र डेन्टल सेवामा एक जना स्वास्थ्यकर्मी आवश्यक रहेको जोशीको भनाइ छ। बिरामीले चाप हुने अस्पतालमा अहिले १४ वटा पद रिक्त रहेको सूचना अधिकारी जोशीले बताए। प्राविधिक जनशक्ति अभावकै कारण जिल्ला अस्पतालमा प्राप्त भएको सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटर प्रयोगविहीन छ। कोभिडका बिरामीलाई समेत अस्पतालकै जनशक्तिले व्यवस्थापन गरी आकस्मिक, ओपिडी, प्रसूति सेवा नियमित सञ्चालन भइरहेको छ।

पन्ध्र शय्या सञ्चालनको स्वीकृति पाएको भए पनि अहिले यो अस्पतालले ३५ शय्यामा बिरामीलाई सेवा दिइरहेको छ। बिरामीको चाप र क्षेत्रीय आवश्यकताका आधारमा अस्पतालको स्तरोन्नतिका लागि प्रदेश नं १ सरकारले चालु आवको नीति तथा कार्यक्रममा १०० शय्यामा विस्तार गर्ने उल्लेख गरेको छ।

रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *