डोटीमा भाइरल ज्वरोको बिरामी बढे

डोटी, २० साउन । जिल्ला अस्पताल डोटीमा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट एवं कार्यालय प्रमुख कृष्ण जोशीका अनुसार विगत पाँच÷सात दिनदेखि जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको हो ।

जिल्ला अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ६०.७० प्रतिशत बिरामी भाइरल ज्वरोका नै हुने गरेको उनले बताए । उनले भने, “जिल्ला अस्पतालमा दैनिक औसतमा कम्तीमा पनि ४० देखि ५० जनासम्म भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन्, अहिले भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् ।”

केही दिनदेखि जिल्लामा वर्षासँगै अत्यधिक गर्मी बढेको र वातावरणमा आएको परिवर्तनले मानिसमा भाइरल ज्वरोको प्रकोप देखिएको अस्पतालले जनाएको छ ।

मौसम परिवर्तनका कारण मानिसको शरीरमा अत्यधिक गर्मी भएको र शरीर तातो नै रहेको बेला अचानक पानीमा भिज्नु वा चिसो पदार्थ पिउनाले शरीरले तापक्रम अनुकूलरूपमा मिलाउन नसक्दा ‘इन्फेक्सन’ भएर भाइरल ज्वरो हुने गरेको शेलेश्वरी अस्पताल दिपायलका डा ललितकुमार लिम्बूले बताए ।

शैलेश्वरी अस्पतालमा पनि दैनिक ५० देखि ६० जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पतालका निर्देशक आइजङग कुँवरले जानकारी दिए । यसैगरी त्यहाँका अन्य निजी पोलिक्लिनिक तथा मेडिकलहरुमा समेत उक्त रोगका बिरामीको सङ्ख्या बढेको स्वास्थ्यकर्मीहरु बताउछन् ।

भाइरल ज्वरो आएका बिरामीले नआत्तिन, झोल पदार्थ बढी खान, सफा पानी बढी पिउन, खानपिन र सरसफाइलगायतका जनस्वास्थ्यको मापदण्डमा ध्यान दिन स्वास्थ्यकर्मीले सबैमा आग्रह गरेका छन् ।

रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *