होटलबाट २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा

झापा, १६ साउन । होटलबाट  २२० डोज कोरोनाविरुद्धको खोप भेरोसेलसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

विर्तामोडको टाइमलेस होटलबाट फोकल पर्सन ओमबहादुर खड्कालाई शुक्रबार अपरान्ह ४ बजेतिर खोपसहित नियन्त्रणमा लिइएको हो।

इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले होटलबाट खोपसहित फोकल पर्सन खड्कालाई नियन्त्रणमा लिएर केहीबेर राखिएको र कानून बमोजिम थप कारबाहीका लागि स्वास्थ्य कार्यालयमा पठाइएको जानकारी दिए।

विर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले उक्त खोप विर्तामोड नगरपालिकाको आग्रह बमोजिम स्वास्थ्य कार्यालय झापाले पठाएको जिकीर गर्दै होटलमा लुकाइएको आरोप अस्वीकार गरेका छन्।

फोकल पर्सन खड्काले भने आफू आइसोलेशनका लागि टाइमलेस होटलमा रहेको बेला जिल्लाबाट पठाइएको खोप होटलमै बुझेको दाबी गरेका छन्।

विर्तामोडको खोप कार्यक्रममा खटिएका केही स्वास्थ्यकर्मी होटल आइसोलेसनमा बस्ने गरेको र सोही क्रममा खोप भेटिएका कारण स्थानीयबासीले खोपमा अनियमितताको आशंका गरेका छन्।

तर, स्वास्थ्य कार्यालय झापाले पठाएको खोप नगरपालिका कार्यालय, स्वास्थ्य शाखा, प्रहरी कार्यालयलगायतका निकायमा राखिनुको साटो होटलमा राखिनु गलत भएको विर्तामोड नगरपालिकाले स्वीकार गरेको छ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जिल्लाबाट विर्तामोडमा खोप गएको हो वा होइन भन्ने बारेमा आफू अनभिज्ञ भएको बताए। ​उनले घटनाबारे सोधखोज भइरहेको जानकारी दिए। रासस

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *