एक बर्षमा मेडिकल काउन्सिलमा डाक्टरबिरुद्ध ४५ वटा उजुरी, ६ वटा फछ्यौट
काठमाडौं, १० साउन । नेपाल मेडिकल काउन्सिलमा आर्थिक बर्ष २०७७/०७८ मा चिकित्सकसंग जोडिएको घटनाबिरुद्ध ४५ वटा उजुरी परेको छ । त्यसमध्ये ६ वटा उजुरी फछ्यौट भएको काउन्सिलले जनाएको छ । अरु उजुरी फछ्यौट हुने क्रममा रहेको उसले स्पष्ट पारेको छ ।
यसअघि काउन्सिलमा डाक्टर र तिनले गर्ने उपचारबिरुद्ध चित्त नबुझी कति उजुरी पर्थे भन्ने सार्वजनिक हुने गरेको थिएन । तर काउन्सिलले यसपटक भने पत्रकार सम्मेलन नै गरी सो जानकारी दिएको हो ।
गत शुक्रबार काउन्सिलमा आयोजित पत्रकार सम्मेलनमा रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले ४५ जनाको उजुरी परेमध्ये ६ जनाको टुंगिएको बताए । उनले छ वटामध्ये एउटा केशमा कारवाही नै भएको, एउटा केशमा सचेत गराईएको र बाँकी ४ वटा केशमा गल्ती नभेटिएको बताए ।
डा अधिकारीका अनुसार हृदयघातबाट मृत्यु भएका नेपाल वायुसेवा निगमका बरिष्ठ क्याप्टेन राकेश जंगबहादुर राणाको उपचारमा लापरवाही गरेको भन्दै परिवारले दिएको उजुरीको छानवीन गर्दा मुटुरोग विशेषज्ञ डा. ऋषि खत्रीले गलत गरेको ठहर गर्दै उनलाई कारबाही गरेको छ ।
उनले यस्तै गत १४ कात्तिकमा रंगेली अस्पतालमा कार्यरत चिकित्सकबिरुद्ध परेको उजुरीमा त्यहाँ कार्यरत डा रोशनकुमार झा, डा सुधिर चौधरी लगायतका चिकित्सकलाई सचेत गराईएको बताए । छानवीनको क्रममा उनीहरु डिउटीको समय ‘बर्थ डे पार्टी’मा व्यस्त भएको पाइएको थियो । समयमै डिउटीमा नपुग्दा बिरामीको ज्यान गएको भन्दै उजुरी परेको थियो ।
अरु चार वटा मुद्धामा भने उजुरी अनुसार गल्ती नभेटिएको डा अधिकारीले बताए । ‘डाक्टरले गतल रिपोर्ट दिएको, गलत उपचार गरेको, लापरवाही गरेको लगायतका उजुरी परेको थियो तर छानवीनको क्रममा त्यस्तो भेटिएन । उजुरी गर्नेहरुलाई हामीले त्यसबारेमा जानकारी गराईसकेका छौँ,’ डा अधिकारीले भने ।
काउन्सिलका अधिकृत अनिता लामाले आर्थिक बर्षमा फछ्यौटहुन बाँकी रहेका उजुरी पनि करीब करीब टुंगिने क्रममा रहेको बताइन । ‘धेरै उजुरी छानवीनकै क्रममा छ । र छिटै नै टुंगो लाग्छ,’ उनले भनिन् ।
बिरामीको मृत्यु पछि डाक्टरको लापरवाही भन्दै अस्पताल तोडफोड हुने र डाक्टरमाथि नै हातपात हुने क्रम नरोकिँदा काउन्सिले आफूकहाँ परेका उजरी छानवीनलाई तिब्रता दिएको जनाएको छ ।
सम्पर्क इमेल : [email protected]