उपचारमा लापरवाही गरेको ठहर गर्दै एक जना डाक्टरमाथि काउन्सिलको कारवाही

काठमाडौँ, ८ साउन । नेपाल मेडिकल काउन्सिलले आफूकहाँ दर्ता भएको एक जना चिकित्सकले बिरामीको उपचारमा लापरवाही गरेको ठहर गर्दै कारवाही गरेको छ । नेपाल वायुसेवा निगमका बरिष्ठ क्याप्टेन राकेश जंगबहादुर राणाको उपचारमा लापरवाही गरेको भन्दै काउन्सिलले मुटुरोग विशेषज्ञ डा. ऋषि खत्रीलाई कारबाही गरेको हो ।

क्याप्टेन राणाको १० मंसिर २०७७ मा हृदयघातका कारण मृत्यु भएको थियो । ९ मंसिर २०७७ का दिन राती मलेसियाको उडानका लागि तयारी गर्दै गर्दा अचानक असहज महसुस भएपछि राणालाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना गरेको भोलिपल्ट उनको मृत्यु भएको थियो।

त्यसपछि परिवारले राणाको उपचारमा संलग्न डा. खत्री र नागरिक उड्डयन प्राधिकरणका नागरिक उड्डयन चिकित्सा निर्धारक डा. राजीवकुमार देउविरुद्ध उजुरी गरेका थिए ।

क्याप्टेन राणकी श्रीमती पुष्पा राणाले ४ चैत २०७७ मा काउन्सिलमा उजुरी दिएपछि काउन्सिलले पाँच जना विज्ञहरुद्धारा उपचार प्रक्रियाको छानवीन अघि बढाएको थियो । सो क्रममा खत्रीको उपचार सहि नभएको र चिकित्सकीय लापरवाही गरेको ठहर गरेको हो ।

‘एयरलायन्सको पाइलटहरुको नियमित स्वास्थ्य परीक्षण हुने रहेछ । क्याप्टेन राणाको मुटुसम्वन्धी परीक्षण डा खत्रीले गर्दै आएका रहेछन् । टिएमटी लगायतका परीक्षण रिपोर्ट ठिक छ भनेर दिएका रहेछन् । रिपोर्ट ठिक हुँदा हुँदै कसरी हृदयघात भयो ? परिवारले यहि विषयमा छानवीन गर्न माग गरेको थियो । पछि पाँच जना मुटुरोग विशेषज्ञलाई डा खत्रीले गरेको टिएमटी लगायत अन्य परीक्षण र उपचार विधिको जाँच गर्न लगायौँ । सबैले गलत उपचार भएको रिपोर्ट दिनुभयो,’ काउन्सिल स्रोतले भन्यो ।

त्यसो त काउन्सिलले गत ४ साउनमा उजुरीकर्ता पुष्पा राणालाई पठाएको पत्रमा चिकित्सकमाथि कारबाही गरेको जानकारी दिएको छ । चिकित्सक विरुद्धमा परेको उजुरी सम्बन्धमा छानबिन हुँदा निजले चिकित्सकीय लापरवाही गरेको देखिएको काउन्सिलले पठाएको पत्रमा भनिएको छ ।

डा. खत्रीलाई सूचना जारी भएको मितिले एक वर्षसम्म मुटुरोग विज्ञको हैसियतमा काम गर्न नदिने निर्णय भएको काउन्सिलले जनाएको छ । एक वर्ष तालिम र थप सिकाइ गरेको प्रमाण पेश गरेपश्चात मात्रै मुटुरोगको उपचार गर्न गराउन अनुमति दिने निर्णय पनि काउन्सिलले गरेको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणमा चिकित्सकको नियुक्ति तथा निजहरूको जिम्मेवारी सम्बन्धमा पनि विभिन्न व्यवस्था गर्न निमगलाई आग्रह गर्ने निर्णय काउन्सिलले गरेको छ।

विमान चालक पाइलटहरूको स्वास्थ्य परीक्षण गराउँदा सम्बन्धित विषयको दर्तावाला विज्ञ चिकित्सकबाट परीक्षण गराउने, विज्ञ पहिचानमा कुनै सहयोग आवश्यक भए नेपाल मेडिकल काउन्सिलमा सम्पर्क गर्ने, ४० वर्ष उमेर पुगेका पाइलटहरूको स्वास्थ्य परीक्षणलाई थप कडाई गरी विषय विज्ञको राय बमोजिम गर्ने गराउने जस्ता सुझाव निगमलाई दिने निर्णय पनि मेडिकल काउन्सिलले गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *