काठमाडौँमा १८ वर्ष माथिकालाई पनि जोन्सन एन्ड जोन्सन खोप

700
Shares

काठमाडौं, ६ साउन । कोरोना भाइरस विरुद्धको जोन्सन एन्ड जोन्सन खोप काठमाडौँ जिल्लामा १८ वर्षमाथिका सबैलाई लगाइएको छ ।

खोप अभियानमा काठमाडौँ जिल्लामा सोचेभन्दा कमले लगाएको र खोप बच्ने भएकाले १८ वर्षमाथिका सबैलाई खोप लगाइएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण शाखाका निर्देशक डा तारानाथ पोखरेलले जानकारी दिए ।

अहिले खोप लगाउनका लागि काठमाडौँ जिल्लाका ४४ वटा खोप केन्द्रमा भीड रहेको छ । उनले खोप भोलिसम्म खोप केन्द्रमा गएर लगाउन सकिने बताए। उनले जोन्सन एन्ड जोन्सन खोपबारे नकारात्मक हल्ला भएपछि मानिसहरुले कम लगाएको हुनसक्ने भन्दै खोपले कुनै नकारात्मक प्रभाव नपार्ने बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले यही साउन ४ गते खोप अभियानको शुभारम्भ गरेका हुन् । भोलिसम्म लगाइने खोप शुरुमा ५० देखि ५४ वर्ष उमेर समूहका सबैलाई भनिएको थियो । अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० मात्रा जोन्सन एन्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत यही असार २८ गते अनुदानमा उपलब्ध गराएको थियो ।

जोन्सन एन्ड जोन्सन खोप पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मी, यसअघिको अभियानमा खोप लगाउन छुट भएकालाई लगाइँदैछ । नेपालमा अहिलेसम्म ३१ लाख ५० हजार ९५६ जनाले पहिलो मात्रा र ११ लाख ५८ हजार १३० जनाले दोस्रो मात्रा खोप लगाइसकेका छन् ।

रासस

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *