स्वास्थ्य सचिवका लागि तीन जनाको नाम सिफारिस
काठमाडौँ, ४ असार । स्वास्थ्य सचिवका लागि नाम सिफारिस गर्न गठित बढुवा समितिले तीन जनाको नाम सिफारिस गरेको छ । सोमबार विहान सामान्य प्रशासन मन्त्रालयमा बसेको समितिको बैठकले प्रमुख विशेषज्ञत्रय डा. रोशन पोखरेल, डा. दिपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको हो ।
सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार, बाह्रौँ तहमा बढुवा हुँदाको क्रमलाई हेरेर डा. पोखरेल, डा. सिंह र श्रेष्ठको नाम क्रमश पहिलो दोस्रो र तेस्रो नम्बरमा गरिएको छ ।
समितिको सिफारिसपछि सम्भवत अव बस्ने मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य समूहको सचिवको टुंगो लगाउने छ ।
तत्कालिन स्वास्थ्य सचिव डा पुष्पा चौधरीको पालामा स्वास्थ्य समूहको सचिवको दरबन्दी स्वास्थ्यबाट झिकिएको थियो । त्यसयताको झण्डै साढे तीन बर्ष स्वास्थ्यमा समूहभन्दा बाहिरबाट सचिव आएका थिए ।
को बन्ला स्वास्थ्य सचिव ?
बढुवा समितिको सिफारिससंगै अब नयाँ स्वास्थ्य सचिव को बन्ला भन्ने आँकलन गर्न थालिएको छ । तर तीन जनाको प्रतिस्पर्धामा यतिवेला डा पोखरेल सबैभन्दा अघि रहेको देखिएको छ ।
‘डा पोखरेल बाह्रौँ तहको बढुवामा पनि १ नम्बरमा थिए । दोस्रो र तेस्रो नम्बरमा क्रमश डा सिंह र श्रेष्ठ थिए । त्यहि हिसावले अहिले सिफारिस गरिएको छ भन्ने पनि सुनिएको छ । अर्कोकुरा डा पोखरेल अहिलेको सत्ता गठबन्धन नजिक पनि मानिन्छन् । यसले झनै प्लस पोईन्ट हुने भयो । त्यसैले अबको स्वास्थ्य सचिव ९९ प्रतिशत डा रोशन नै हो,’ एक जना पूर्व स्वास्थ्य सचिवले भने ।
प्रतिस्पर्धामा रहेका तीन जनामध्ये श्रेष्ठको कार्यकाल अव दुई साता मात्रै बाँकी छ । आगामी १७ साउनमा उनी अवकाश हुँदैछन् । डा पोखरेल र डा सिंंहको भने तीन बर्ष बढी समयावधी छ ।
सम्पर्क इमेल : [email protected]