मेरो सरकारको प्राथमिकता सबैलाई कोरोनाबिरुद्धको खोप : प्रधानमन्त्री देउवा
काठमाडौँ, ४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारको पहिलो प्राथमिकता सबैलाई कोरोनाविरुद्धको खोप उपलव्ध गराउने भएको बताएका छन् ।
सोमबार नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीको खोप केन्द्रको स्थलगत अनुगमन गर्ने क्रममा सो बताएका हुन् । उनले सो अवसरमा खोप सहज रुपमा लगाउने प्रवन्ध मिलाउन मातहतका निकायलाई निर्देशन दिएको समेत बताए ।
सरकारले आजबाट काठमाडौँ उपत्यका सहित केही जिल्लामा एक डोड मात्रै लगाए हुने जोनसन एण्ड जोनसन खोप दिन सुरु गरेको छ । प्रधानमन्त्री देउवाले आज अर्थोपेडिक अस्पताल सहित कम्तिमा सातवटा अस्पतालमा रहेका खोप केन्द्रको अनुगमन निरीक्षण गर्ने कार्यक्रम छ ।
एक डोज मात्रै दिए पुग्ने जोनसन एण्ड जोनसन खोप ५० देखि ५४ बर्ष उमेर समूहका व्यक्ति, अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी लगायतलाई दिइँदै छ । प्रधानमन्त्री देउवाले जोरपाटीको खगेन्द्र नवजीवन पुर्नस्थापना केन्द्रमा रहेका अपांगहरुलाई खोप उपलव्ध गराएका थिए ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री देउवाको अर्थोपेडिक अस्पताल संगै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, वीरेन्द्र शैनिक अस्पताल छाउनी, नेपाल निजामती कर्मचारी अस्पताल मिनभवन, वीर अस्पताल, कुपण्डोल खोप केन्द्रको निरीक्षण गर्ने कार्यक्रम छ ।
सम्पर्क इमेल : [email protected]