अमेरिकाद्धारा ५ लाख थान आरडीटी टेष्ट किट सहयोग
काठमाडौँ, ३१ असार । अमेरिकाले कोभिड १९ विरुद्धको नेपालको अभियानलाई सहयोग गर्ने क्रम जारी राखेको छ । बिहीबार मात्रै अमेरिकी जनताको तर्फबाट भन्दै युएसएआईडीले ५ लाख थान कोभिड १९ परीक्षण गर्ने रेपीड डाईग्नोस्टिक टेष्ट किट (आरडीटी) उपलव्ध गराएको हो ।
एयरपोर्टमा आयोजित कार्यक्रममा युएसएआईडी नेपालकी निमित्त मिसन निर्देशक एड्रीयाना हएसले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई सो किट हस्तान्तरण गरेकी थिइन ।
यसअघि अमेरिकाले जोन्सन एण्ड जोन्सनको १६ लाख डोज खोप, भेन्टिलेटर अक्सिजन कन्सटेटर, अक्सिजन सिलिन्डर लगायतको सहयोग गरेको थियो ।
अमेरिकन आर्मीको तर्फबाट बाइप्याप मेसिन र हाइफ्लो अक्सिजन मास्क सहयोग
कोभिडबिरुद्धको लडाइमा अफिस अफ डिफेन्स कोअप्रेसन (ओडिसी) युएसले पनि सहयोग गरेको छ । विहीबार ओडिसीका तर्फबाट अमेरिकन आर्मी माइकल पी ह्याईटको नेतृत्वमा विभागमा पुगेको टोलीले आपूर्ति व्यवस्थापन शाखा प्रमुख उपेन्द्र ढुंगानालाई सामग्री हस्तान्तरण गरेका हुन् ।
वाइप्याप मेसिन १०८ थान, त्यसमा चाहिने अरु सामग्री, हाइफ्लो अक्सिजन मास्क, अक्सिजन क्यानुला, न्याजल क्यानुला लगायतका सामग्रीहरु रहेका छन् ।
सो अवसरमा शाखा प्रमुख ढुंगानाले कोभिडबिरुद्धको लडाईँमा अमेरिकी सरकार, अमेरिकी जनताले गरेको सहयोग प्रति धन्यवाद दिए ।
सम्पर्क इमेल : [email protected]