काठमाडौँमा ५५ हजार ८३० जनाले भेरोसेलको पहिलो डोज लगाए


काठमाडौँ, ३१ असार । काठमाडौँमा मंगलबार र बुधबार गरी कुल ५५ हजार ८३० जनाले कोभिडविरुद्धको खोप भेरोसेलको पहिलो डोज लगाएका छन् । जिल्लामा पहिले तय गरिएका ४४ र बुधबार थपिएका ४ सहित कुल ४८ वटा खोप केन्द्रबाट सो परिमाणमा खोप लगाइएको स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले मंगलबार केही खोप केन्द्रबाट १२ हजार ३७२ जनाले र बुधबार ४८ वटा खोप केन्द्रबाट ४३ हजार ४५८ जनाले खोप लगाएको बताए । उनले बुधबार कान्तिपुर अस्पताल, स्तुपा अस्पताल, रामघाट अस्पताल र राधास्वामी केन्द्र सामाखुशीमा खोप केन्द्र थपिएको जानकारी दिए ।

खड्काले विहीबार (आज) कान्ति बाल अस्पताल र नरदेवी आयुर्वेद अस्पतालमा गएर समेत भेरोसेलको पहिलो डोज लगाउन सकिने बताए । यी दुईसंगै भेरोसेल लगाउने काठमाडौंको खोप केन्द्र आज ५० ठाँउ हुने छ ।

 

‘सुरुमा हामीले ४४ वटा खोप केन्द्र तोकेका थियौँ । बुधबार (हिजो) थप चार ठाँउमा खोप लगायौं । आज थप दुई ठाउँबाट खोप लगाउने व्यवस्था मिलाएका छौँ । आज कुल ५० वटा केन्द्रबाट खोप कार्यक्रम सञ्चालन हुनेछन्,’ खड्काले भने ।

स्वास्थ्य कार्यालय काठमाडौँले स्वास्थ्य सेवा विभागले निर्धारण गरेको मापदण्ड अनुसार प्राथमिकतामा परेका व्यक्तिहरुलाई खोप दिएको जनाएको छ ।

विभागले ५५ बर्ष माथिका खोप पाउन बाँकी सबै, शिक्षक कर्मचारी प्राध्यापक, सवारी चालक, सहचालक तथा खोप अनिवार्य गरिएका देशमा जान लागेका व्यक्तिलाई खोप लगाउने व्यवस्था मिलाएको छ ।

भेरोसेलको अभियान सकिएपछि एक डोज मात्रै लगाए हुने जोन्सन एण्ड जोन्सन खोप दिईने खड्काले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *