यतिकेमले ल्यायो पाठेघरको मुखको क्यान्सर हुनबाट रोक्न प्रयोग हुने ‘एचपीभी भ्याक्सिन’

काठमाडौँ, २७ असार । भविस्यमा लाग्नसक्ने पाठेघरको मुखको क्यान्सरबाट जोगाउन १० बर्ष उमेर समूहका बालिकाहरुलाई दिइने ‘ह्युमन प्यामिलोमा भाइरस (एचपीभी)’ खोप आएको छ । बेल्जियमको ग्लैक्सो स्मिथक्लाइन (जीएसके) ले उत्पादन गरेको यो खोपको १५ हजार डोज यतिकेम डिस्ट्रिब्युटर प्रालिले ल्याएको हो ।

यतिकेमले ल्याएको १५ हजार डोज खोपमध्ये १२ हजार ५ सय डोज चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई दिईने र बाँकी २ हजार ५ सय डोज खोप यतिकेम आफैले बिक्री गर्ने जनाएको छ ।

यतिकेमका प्रमुख प्रभुराज बैद्यले लामो समयको प्रयास पछि जीएसकेबाट १५ हजार डोज खोप ल्याउन सफल भएको बताए । उनले भरतपुर क्यान्सर अस्पताललाई वितरण गरि बाँकी रहेको २ हजार ५ सय डोज खोप आम सर्वसाधारणले खरीद गरी लगाउन सक्ने जानकारी दिए ।

बैद्यले अगाडी थपे, ‘यो खोप पहिले दुईपटक दिने पनि व्यवस्था थियो तर अहिले आएको यो खोप तीन डोज दिनुपर्ने हुन्छ । पहिलो खोप दिएको ३० दिनमा दोस्रो डोज र ६ महिना पछि तेस्रो डोज दिएपछि यसको मात्रा पुरा हुन्छ ।,’

यतिकेमले प्रतिडोज खोपको मूल्य ५ हजार रुपैयाँ तोकेको छ ।

एचपीभी खोप पहिले सरकारले पनि ल्याएको थियो

नेपालमा एचपीभी खोप यसअघि सरकारी तवरबाट आएको थियो । ‘द ग्लोवल एलाइन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी)’ को निशुल्क सहयोगमा विसं २०७२ सालको माघ महिनाको अन्तिम साता १७ हजार ६ सय डोज खोप नेपाल आएको थियो ।

सो खोप पहिलो चरणमा चितवन र कास्कीका करीब १५ हजार बालबालिकालाई दिइएको थियो । त्यसबेला सरकारले कक्षा ६ मा अध्ययन गर्ने बालिकाहरुलाई विद्यालयमै गएर यो खोप दिने व्यवस्था मिलाएको थियो । तर, सो कार्यक्रमले निरन्तरता पाउन सकेन । यसबीचमा निजी क्षेत्रले पनि यो खोप ल्याउन सकिरहेको थिएन ।यतिकेमले लामो प्रयासपछि खोप आएको बताएको छ ।

एचपीभीले कसरी काम गर्छ ?
पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन प्यापीलोमा भाइरस (एचपीभी)लाई मानिएको छ । जुन यौन क्रियाकलापको माध्यमबाट महिला वा पुरुषमा सर्दछ ।

एचपीभी भाइरसहरुको समूह हो । यो भाईरस १७० भन्दा बढी प्रकारको हुन्छ । यो संसारभर पाइन्छ । यीमध्ये १४ प्रकारका एचपीभी भाईसरको संक्रमणले पाठेघरको मुखको क्यान्सर, योनी, लिंग, गुदद्धार र घाँटीको समेत क्यान्सर गराउन सक्दछ ।

‘एचपीभी १६ र एचपीभी १८ ले मात्रै ७० प्रतिशत भन्दा बढी क्यान्सर गदाउँछन् ।  त्यसैले बालिकाहरुको संक्रिय यौन जीवन शुरु हुनु भन्दा अघि नै ९ देखी १५ बर्ष उमेरको बीचमा एचपीभीको संक्रमणबाट हुने क्यान्सरबाट जोगाउन एचपीभी विरुद्धको खोप दिइनु पर्दछ भन्छन्,’ स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाशाखा अन्तरगर्तको वाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक गौतम ।

त्यसो त नेपाल सरकारको खोप सम्वन्धी बहुबर्षीय योजनामा समेत एचपीभी लगायतको खोपहरु नियमित खोप सेवामा थप गर्दै जाने भनि उल्लेख गरिसकेको छ ।

विश्वका कतिपय मुलुकहरुले आफ्नो नियमित खोप सेवामा एचपीभी विरुद्धको खोपलाई समावेश गरीसकेका छन् । यो खोप सुरक्षित, प्रभावकारी र अर्थिक रुपले उपयुक्त छ भनि विश्व स्वास्थ्य संगठनले सिफारिस गरिसकेको छ । यसको नकारात्मक असर देखिएको छैन । यो खोपले एचपीभीको संक्रमणबाट हुने मुखको क्यान्सरलाई ७० प्रतिशतले घटाउन सहयोग पुर्याउँछ । यो खोप छ महिनाको अन्तरालमा दुई पटक दिइन्छ ।

डा गौतम भन्छन्, महिलालाई पाठेघरको मुखको क्यान्सर (सर्भाइकल  क्यान्सर) बाट जोगाउने पहिलो तरिका (प्राइमरी प्रिभेन्सन) भनेको एचपीभी विरुद्धको खोप नै हो । दोस्रो तरिका (सेकेन्डरी प्रिभेन्सन) भनेको क्यान्सर लाग्नु भन्दा पहिले नै महिलाको उमेर ३० देखि ६० बर्षसम्म प्रत्येक पाँच बर्षको एक पटक नियमित जाँच र उपचार गर्नु हो । तेस्रो तरिका रोगको निरुपण र उपचार गर्ने हो ।

उनले दीगोविकास लक्ष्य (एसडीजी) अनुसार सन् २०३० सम्ममा नसर्ने रोगहरुबाट हुने अकालमृत्यु (प्रिम्याचर डेथ) लाई प्रवर्धनात्मक र उपचारात्मक सेवाको माध्यमबाट एक तिहाईमा झार्ने लक्ष्य लिइएको समेत जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *