कोरोनाबाट श्रीमान्–श्रीमतीको एकै दिन मृत्यु

इलाम, २५ असार । कोरोना सङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीया लक्षी हाङमा लावतीको बिहीबार मृत्यु भएको हो ।

श्रीमान् टेकबहादुरको बिहीबार बिहान र श्रीमती लक्षीहाङमाको दिउँसो साढे ३ बजे निधन भएको हो । लावती परिवारका सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएकामा दुई जनाको निधन भएको हो । एकै परिवारका दुईको निधन भएसँगै गाउँमा निकै त्रास फैलिएको छ ।

स्थानीय रेडियो माङ्सेबुङका स्टेशन मेनेजर रहेका छोरा सुमन लावतीसमेत भाइरस सङ्क्रमणका कारण होमआइसोलेशनमा छन् ।

छ दिनअघि उनीहरुलाई सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित सबै होमआइसोलेशनमा थिए । मृतक दम्पतीका दुई छोरा, एक बुहारी र दुई नाति कोरोना सङ्क्रमित रहेको बताइएको छ । स्थानीयवासी राम योङहाङका अनुसार परिवारका अन्य सदस्यको अवस्था भने सामान्य रहेको छ ।

इलाममा बिहीबार थप २२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यससँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या दुई हजार १४४ पुगेको छ । सङ्क्रमितमध्ये एक हजार ७२१ जना निको भइसकेका छन् भने ५२ जनाको यसअघि नै निधन भइसकेको थियो । जिल्लाभर ३७१ सङ्क्रमित उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

दश स्थानीय तह रहेको इलाममा सबैभन्दा बढी इलाम नगरपालिकामा ६७५ सङ्क्रमित छन् भने सबैभन्दा कम फाकफोकथुम गाउँपालिकामा ५५ जना मात्र सङ्क्रमित रहेका छन् । हाल गाउँगाउँमा सङ्क्रमण बढ्दै गएपछि जिल्लावासी त्रसित बन्दै गएका छन् ।

सवारी सञ्चालन र लकडाउन खुकुलो भएसँगै आवतजावत वृद्धि भएपछि सङ्क्रमण बढ्न थालेको हो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *