औषधि उत्पादक संघद्धारा सरकारलाई ४० लाख बराबरको औषधि सहयोग

काठमाडौँ, २० असार । नेपाल औषधि उत्पादक संघ (एपोन)ले सरकारलाई ४० लाख बढीको औषधि सहयोग गरेको छ । बाढी पहिरो पिडीत तथा कोरोना संक्रमितको उपचारमा सहयोग पुर्‍याउन भन्दै एपोनले औषधि उपलव्ध गराएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार आयोजित सम्छिप्त कार्यक्रममा एपोनका अध्यक्ष जी नारायणबहादुर क्षेत्रीले स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई हस्तान्तरण गरेका हुन् । ‘एपोनमा आवद्ध झण्डै ५० वटा कम्पनीले उपलव्ध गराएको १४६ प्रकारका औषधिहरु आज हस्तान्तरण गरेका हौँ,’ एपोनका महासचिव विप्लव अधिकारीले भने, ‘हामीले खासगरी बाढी पहिरो पिडीत तथा कोरोना महामारीमा सरकारले आवश्यक ठानेको ठाँउमा वितरण गर्ने गरी औषधि उपलव्ध गराएका हौं ।’

एपोनका अध्यक्ष क्षेत्रीले सरकारलाई संकट परेका बेला स्वदेशी उद्योगहरुले काध थाप्ने गरेको भन्दै यसपटक पनि आफूहरुले कोरोना महामारी र बाढी पहिलोको चेपेटामा परेका नागरिकको उपचारमा प्रयोग गर्न औषधि उपलव्ध गराएको बताए । सो अवसरमा उनले कोरोना महामारीका बेला, नाकाबन्दीका बेला विदेशबाट औषधि नआउने भन्दै स्वदेश उद्योगलाई प्रोत्साहन गर्न सरकारसंग आग्रह गरे ।

स्वास्थ्य सचिव अर्यालले एपोनको सहयोगप्रति धन्यवाद दिदैं, आपतका बेला निजी क्षेत्रले गरेको सहयोगको उच्च मुल्यांकन गर्ने बताए । उनले स्वदेशी उत्पादन बढाउन फर्मा कम्पनीहरुले क्षमता बढाउनुपर्ने भन्दै त्यसका लागि सरकारले सहयोग गर्ने समेत बताए ।

हस्तान्तरित औषधि एपोनले टेकुस्थित गोदाम पठाएको छ । त्यहाँबाट आवश्यकताका आधारमा विभिन्न जिल्लाहरुमा वितरण गर्ने मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *