कोभिड उपचारमा प्रयोग भएका औषधिको प्रेस्किब्सन अडिट गर्दै फार्मेसी काउन्सिल

काठमाडौँ, १८ असार । नेपाल फार्मेसी काउन्सिले कोभिड अस्पतालका फार्मेसीहरुको प्रेस्किब्सन अडिट शुरु गरेको छ । स्वास्थ्य मन्त्रालयद्धारा गठित कोभिड – १९ केश व्यवस्थापन अनुगमन समितिले ४ जेठमा गरेको निर्णय अनुसार काउन्सिलले कार्यदल बनाएर प्रेस्किब्सन अडिट सुरु गरेको हो ।

अडिटका लागि काउन्सिल अध्यक्ष प्रज्वलजंग पाण्डेको संयोजकत्वमा ११ सदस्यीय कार्यदल बनाइएको छ । यसले काठमाडौँ उपत्यका र उपत्यका बाहिरका अस्पताल कोभिड – १९ को उपचार गर्ने अस्पतालका फार्मेसीहरुमा गएर प्रेस्किब्सनको अडिट गर्नेछ ।

‘खासमा कोभिडको उपचारमा कस्ता कस्ता औषधि कति मात्रामा प्रयोग भए ? समुचित रुपमा प्रयोग भएकी भएनन् ? एन्टीवायोटिक, स्टोरोइड, भिटामिन, मिनरल्स, प्यारासिटामोल लगायतका औषधिहरुको कति मात्रामा प्रेस्काइब भयो ? त्यो हेर्नका लागि प्रेस्किब्सन अडिट थालेका हौँ,’ कार्यदल संयोजक एवं काउन्सिल अध्यक्ष पाण्डेले भने ।

उनले त्रिवि शिक्षण अस्पताल, गंगालाल अस्पताल, पाटन अस्पताल, नेपाल मेडिकल कलेज, नेपाल मेडिसिटी, किष्ट मेडिकल कलेज, हेल्पिङ ह्याण्ड सामुदायिक अस्पताल लगायतका अस्पतालहरुको अडिट भइसकेको बताए । उपयत्यका बाहिर धादिङ,  पोखरा, बिराटनगर, चितवन, नेपालगञ्जका कतिपय अस्पतालमा अडिट सुरु भइसकेको र कतिपयमा हुने क्रममा रहेको जानकारी दिए ।

यस्तो खालको अडिट पहिलो पटक भएको हो ।

‘हामीले यसबाट दुईवटा कुरा पत्ता लगाउन खोजेका छौँ । एउटा, कोभिडको उपचारमा औषधिको समुचित प्रयोग भयो कि भएन ? उपचार कार्यविधि अनुसार औषधिको प्रयोग वा प्रेस्किब्सन भएको हो कि होइन ? अर्को एन्टीवायोटिकजन्य औषधिहरु प्रेस्किप्सन विना नै प्रयोग भएको छ कि ? अव्यक्ति आफैले वा फार्मेसी आफैले विना प्रेस्किब्सन प्रयोग गरेका हुन् कि ? यो पनि हेर्न खोजेका हौँ ।,’ उनले भने  । उनले अडिट पुरा भएपछि प्रतिवेदन मन्त्रालयलाई समेत बुझाउने बताए ।

अडिटका लागि गठित कार्यदलमा पाण्डेको संयोजकत्वमा क्षितिज गड्तौला, महासागर ज्ञवाली, निराजन कंडेल, अमृत थापा, निरज बर्तौला, कादिर आलम,अमितकुमार गुप्ता, रोशन सर्दार, विनिता केसी र सुशील कोइराला सदस्य छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *