एक लाख राशीको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ कोभिडबिरुद्ध खटिएकी स्टाफ नर्स र एम्बुलेन्स चालकलाई

काठमाडौँ, ११ असार । मदन भण्डारी फाउण्डेशनले यसबर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार कोभिडबिरुद्ध खटिएका दुई जना फ्रन्टलाइनरलाई दिने निर्णय गरेको छ ।
फाउण्डेशनले एक लाख राशीको सो पुरस्कार भेरी अस्पतालको आइसीयूमा कार्यरत स्टाफ नर्स सुनिता सहकरी र नेपाल एम्बुलेन्स सर्भिस कीर्तिपुर स्टेशनका एम्बुलेन्स चालक बोमबहादुर गुरुङलाई दिने निर्णय गरेको हो ।

फाउन्डेशनका सचिव पेम्वा लामाद्धारा जारी विज्ञप्तीमा उक्त पुरस्कार आगामी १४ असारका दिन जननेता मदन भण्डारीको ७० औँ जन्मजयन्तीको सन्दर्भमा काठमाडौँमा आयोजना हुने कार्यक्रममा प्रदान गरिनेछ ।

समाजमा सकारात्मक योगदान प्रदान गर्ने विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्ति वा संस्थाहरुलाई प्रदान गरिदै आएको यो पुरस्कार यसअघि हाँस्य कलाकार महजोडी, शहीद पार्क हेटौंडा, मुटुरोग विशेषज्ञ डा भगवान कोइराला र सामाजिक अभियन्ता महावीर पुन, धुर्मुस सुन्तली फाउन्डेशनल, प्राडा सुवोध शर्मालाई प्रदान गरिएको थियो ।

सम्मानपत्र सहित एक लाख धनराशीको पुरस्कार पाउने स्टाफ नर्स सहकरी नरहरीनाथ गाँउपालिका ४ कालिकोट कि हुन् । उनी २०७६ चैत १६ देखि करारमा नियुक्ती लिई भेरी अस्पतालमा कोभिड आइसीयूमा काम गर्दै आएकी छन् । भेरीमा कोभिड आइसीयूमा काम गर्ने क्रममा आफै दुईपटक कोरोना संक्रमणमा परेकी थिईन ।

यस्तै कीर्तिपुर स्टेशनमा कार्यरत नेपाल एम्बुलेन्स सर्भिसका एम्बुलेन्स चालक बोमबहादुर गुरुङ कोरोना सुरु भए यता दिनरात कोरोना संक्रमितलाई उपचारका लागि अस्पताल पु¥याउने काममा खटिएका चालक हुन् ।

फाउण्डेशनद्धारा जारी विज्ञप्तीमा जनस्वास्थ्यको क्षेत्र, विशेषगरी कोभिड १९ को महामारीमा आफ्नो ज्यान जोखिममा राखेर अग्रपंक्तिमा रही कोभिडबाट संक्रमित बिरामीको सेवामा दिनरात खटेर सेवा गर्नुभएकोमा उहाँहरुको योगदानको उच्च मूल्यांकन गर्दै यो पुरस्कार प्रदान गर्न लागिएको उल्लेख छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *