‘सुदर्शन स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार’ एपी वान टेलिभिजनकी सुजिता पौडेललाई

काठमाडौँ, ८ असार ।   कोरोना महामारीका बेला फिल्डमा सक्रिय रुपमा खटिएकी एपी वान टेलिभिजनकी स्वास्थ्य संवाददाता सुजिता पौडेलले ३० हजार राशीको ‘सुदर्शन स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार’ प्राप्त गरेकी छन् । स्वास्थ्य पत्रकार मञ्च नेपालको सिफारिसको आधारमा प्रस्तावित सुदर्शन देवकोटा स्मृति प्रतिष्ठानले पत्रकार पौडेललाई पुरस्कृत गरेको हो । पुरस्कारको राशी ३० हजार रुपैयाँ छ ।

मंगलबार राजधानीमा आयोजित कार्यक्रममा स्वर्गीय देवकोटाकी छोरी डा सुधा देवकोटाले उक्त पुरस्कार पत्रकार पौडेललाई हस्तान्तरण गरिन् । सो अवसरमा बोल्दै डा. देवकोटाले आफ्नो बाबाले लामो समय पत्रकारितामा बिताएको र बाबाकै कारणले पत्रकारिताको महत्व आफूले राम्रोसंग बुझेकोले बाबाको मार्गमा आफू कुनै रुपमा जोडिऔँ भनेर पत्रकारिता पुरस्कार स्थापना गरेको बताइन ।

‘मेरो बाबाले पत्रकारिता सम्मानित पेशा हो भनेर हामीलाई बुझाउनु भयो । बाबाका हामी सबै सन्ततीले पत्रकारिताको महत्व बुझेका छौँ । अझ् स्वास्थ्य पत्रकारिता त झनै सम्वेदनशील विषय भयो । त्यसैले स्वास्थ्य पत्रकारहरुसंग सहकार्य गर्दै बाबाको स्मृतिलाई ताजा गराउन चाहन्छौँ । आज चौधौ स्मृति दिवसमा हामीले पुरस्कार प्रदान गर्न सफल भयौं । र अक्षयकोषमार्फत यसलाई निरन्तरता दिनेछौँ,’ उनले भनिन् ।

कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष रामप्रसाद न्यौपानेले प्रस्तावित सुदर्शन देवकोटा स्मृति फाउन्डेशनले स्वास्थ्य पत्रकारहरुको सम्मानका लागि सहकार्य गर्ने अवसर पाउँदा खुशी लागेको बताए । उनले मञ्च र प्रतिष्ठान मिलेर भविस्यमा पनि स्वास्थ्य पत्रकारहरुको हित र क्षमता अभिवृद्धि सम्वन्धी विभिन्न कार्यक्रममा हातेमालो गर्ने बताए ।

कार्यक्रममा बरिष्ठ पत्रकार उमेश चौहानले स्वर्गीय सुदर्शन देवकोटाको पत्रकारिता यात्राको चर्चा गर्दै पत्रकारिता सम्मानित र गर्व गर्न लायक पेशा हो है भनेर आफ्ना सन्ततीलाई छाप छोड्न सफल भएको बताए ।  उनले भने, ‘उहाँ (सुदर्शन) को छोरा छोरी अहिले अर्कै पेशामा हुनुहुन्छ तर आफ्नो स्वर्गीय बाबुको पत्रकारिताका प्रेरणादायी कुरा, प्रशंग र प्रशंसा यति गर्नु हुन्छ कि, यसले पत्रकारिता क्षेत्र सम्मानित र गर्व गर्न लायक पेशा हो भन्ने प्रमाणित भएको छ । बाबाको नाममा प्रतिष्ठान खोल्ने, पत्रकारिता पुरस्कारका लागि अक्षयकोष निर्माण गर्ने, पत्रकारिता पुरस्कार वितरण गर्ने सन्ततीहरुको कार्यले यसलाई थप पुष्टि गरेको छ । हामी नयाँ पुस्ताका पत्रकारहरुले उहाँबाट शिक्षा लिएर अघि बढ्नु छ ।’   उनले मञ्चसंगको सहकार्यमा स्थापित पुरस्कारले स्वास्थ्य  पत्रकारहरुलाई प्रोत्साहन र हौसला मिल्ने बताए ।

कार्यक्रम प्रतिष्ठानका तर्फबाट कपिल घिमिरे, मञ्चका तर्फबाट निवर्तमान अध्यक्ष कल्पना आचार्य र पुरस्कृत पत्रकार सुजिता पौडेलले आफ्ना धारणा राखेका थिए ।

कार्यक्रमको सहजीकरण तेजकुमार बास्तोलाले गरेका थिए ।

प्रस्तावित सुदर्शन देवकोटा स्मृति प्रतिष्ठानले स्वास्थ्य पत्रकार मञ्च नेपालसंगको सहकार्यमा उक्त पुरस्कार स्थापना गरेको हो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *