चिकित्साशास्त्रको एकीकृत प्रवेश परीक्षा उपत्यका बाहिर पनि गर्ने तयारी, ‘कहाँ पायक पर्छ ?’ भन्दै विद्यार्थीलाई सोधियो

काठमाडौँ, ७ असार । चिकित्सा शिक्षा शास्त्र तर्फ स्नातक तहको एकीकृत प्रवेश परीक्षा काठमाडौँ उपत्यका बाहिर पनि सञ्चालन गर्ने तयारी भएको छ । चिकित्सा शिक्षा आयोगको आज बसेको कार्यकारी बैठकले काठमाडौँको भिडभाड घटाउन उपत्यका बाहिर पनि परीक्षा सञ्चालन गर्ने भन्दै तयारी थालेको हो । बैठकले काठमाडौँ बाहेक बिराटनगर, चितवन र नेपालगञ्जमा परीक्षा केन्द्र राख्ने योजना बनाएको छ ।

‘हामीले उपत्यका बाहिर विराटनगर, चितवन र नेपालगञ्जमा पनि परीक्षा सञ्चालन गर्ने भन्ने योजना बनाएका छौँ । त्यसैले अब विद्यार्थीहरुलाई यी ठाँउमा परीक्षा केन्द्रहरु सञ्चालन गर्दा कहाँ नजिक पर्छ भनेर हामीले रोज्न लगाउँदै छौँ ।  तीन दिन भित्र विद्यार्थीहरुले आफूलाई पायक पर्ने परीक्षा केन्द्र रोज्नुपर्नेछ । त्यसको विश्लेषण गरी केन्द्रहरुको अन्तिम टुंगो लाग्नेछ,’ आयोगका प्रवक्ता डिल्लीराम लुईटेलले भने ।

आयोगले यसअघि २६ असार देखि एमबीबीएस लगायत चिकित्साशास्त्र तर्फको स्नातक तहको परीक्षा लिने तयारी गर्दै कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) संग अनुमति मागेको थियो । आइतबार (हिजो) बसेको सीसीएमसीको बैठकले परीक्षाका लागि लागि उपत्यका बाहिर सञ्चालन गर्ने र सुरक्षित ढंगले कसरी सञ्चालन गर्न सकिन्छ भन्ने मोडल तय गर्न आयोगलाई निर्देशन दिएको छ । सोही अनुसार आयोगले उपत्यका बाहिर परीक्षा केन्द्र सञ्चालन गर्ने र विद्यार्थीहरुको सर्भे गर्न लागेको हो ।

प्रवक्ता लुईटेलले आगामी ११ गतेसम्ममा सीसीएमसीले निर्णय गरिदिएमा २६ असार देखि नै परीक्षा सञ्चालन हुने बताए ।

‘परीक्षा हुनु भन्दा १५ दिन अघि त निर्णय गर्नै पर्छ । ११ गतेसम्म सीसीएमसीले अनुमति दियो भने हामीले २६ गते असारबाटै सुरु गर्न पनि सक्छौँ । त्यसैले अन्तिम टुंगो सिसिएमसीको निर्णयमा भर पर्ने भयो,’ उनले भने ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *