नेपाल मेडिकल कलेजको ४९ प्रतिशत सेयर नेशनल मेडिकल कलेजले किन्यो

काठमाडौँ, ६ असार । काठमाडौंको, जोरपाटीस्थित नेपाल मेडिकल कलेजको ४९ प्रतिशत सेयर वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले खरीद गरेको छ ।

नेपाल मेडिकल कलेजको नाममा रहेको कुल ५० लाख २४ हजार कित्ता सेयरमध्ये २४ लाख ६१ हजार ७६० कित्ता सेयर नेशनलले खरीद गरेको हो ।

नेशनलले प्रतिकित्ता करबाहेक ७०१ रुपैयाँका दरले कुल १ अर्व ७२ करोड ५६ लाख ९३ हजार ७६० रुपैयाँमा ४९ प्रतिशत सेयर खरीद गरेको जनाएको छ ।

गत शुक्रबार नेपाल मेडिकल कलेजका तर्फबाट अध्यक्ष प्राडा भोला रिजाल र नेशनल मेडिकल कलेजका तर्फबाट अध्यक्ष प्राडा. जैनुद्दिन अन्सारीबीच सेयर लेनदेनको सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यहि असारभित्र ४९ प्रतिशत सेयर वाफतको रकम नेपाल मेडिकल कलेजका सञ्चालकहरुलाई तिर्ने गरी सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको नेशनल मेडिकल कजेज वीरगन्जका प्रवन्ध सञ्चालक बसुरुद्दिन अन्सारीले बताए ।

उनले भने, कर सहित प्रतिसेयरको मूल्य ७६८ रुपैयाँ हो । त्यसमा कर कटाएर बिक्री गर्नेले ७०१ रुपैयाँ पाउनेछन् । यो महिना भित्रमा यो कारोवार मिलिसक्छ ।

सेयर खरीद विक्री गर्ने सम्वन्धमा गत बुधबार नेपाल मेडिकल कलेजको बोर्ड बैठक तथा साधारणसभा बसेको थियो । सो बैठकले सेयर खरीद गर्ने नेशनलको प्रस्तावलाई स्वीकार गरेको थियो ।

ठूलो हिस्सा शेयर खरीद गरेपनि प्रवन्ध निर्देशक अन्सारीले नेपाल मेडिकल कलेजमा डा भोला रिजाल सहितको टिम कायमै रहेको बताए । ‘५० जनाको सेयर सदस्य थियो ।  डा. रिजालको टिमको बहुसंख्यक सदस्यहरु कायम नै छ । अहिले पनि डा रिजाल नै अध्यक्ष हो । अब हामी प्रवन्ध निर्देशकको भूमिकामा रहन्छौँ होला । त्यहाँबाट त आठ दश जना साथीहरु मात्रै बाहिरिनु भएको हो,’ अन्सारीले भने ।

चिकित्सा शिक्षा आयोगले नेपाल मेडिकल कलेजलाई यसबर्ष एमबीबीएस अध्ययन गराउन १०० सिट तोकेको छ । वीरगञ्जस्थित नेशनलले पनि १०० सिट पाएको हो । दुबै मेडिकल कलेजले ७५० बेड अस्पताल सञ्चालन गरेको बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *