अर्को साताबाट ‘स्मार्ट लकडाउन’ !

काठमाडौँ, ३ असार । कोभिड – १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लकडाउन’ तर्फ जाने निर्णय गरेको छ ।

अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्याङ्कन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुल्ला गरिनुपर्ने निष्कर्ष समितिले निकालेको जानकारी प्रधानमन्त्रीको निजी सचिवालयले दिएको छ ।

प्रधानमन्त्री एवम् समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार राती अबेरसम्म बसेको समितिको बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई ,जापान र मलेसिया जस्ता देशहरुमा हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको छ ।

यी देशहरुबाट सातामा दुई हजार जना यात्रुभन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुने छन् ।

बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ । कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ ।

बैठकले सिसिएमसी केन्द्रको प्रशासनिक कार्यका लागि बजेट व्यवस्था गर्ने तथा निर्माण क्षेत्र र अत्यावश्यक उद्योगलाई स्वास्थ्य मापदण्ड पालनाका साथ खोल्न दिइनेसमेत निर्णय गरेको छ ।

यसैगरी, गैर आवासीय नेपालीहरुबाट पठाइन लागेको अक्सिजन सिलिन्डर ल्याउन हवाई ढुवानी भाडा सरकारले उपलब्ध गराउने एवं इजरायल सरकारबाट सहयोग स्वरुप दिन लागिएको सघन उपचारमा प्रयोग हुने सामग्री स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा निर्देशन दिँदै प्रधानमन्त्री ओलीले स्वास्थ्य मापदण्डमा कडाइ गर्दै लकडाउनलाई सङ्क्रमणको जोखिम नहुने हदसम्म मात्र खुकुलो गर्न सकिने बताएका थिए ।

कोभिड -१९ कुनै एक निकायकको मात्र जिम्मेवारी नभएको बताउँदै प्रधानमन्त्रीले सबै मन्त्रालय र निकायले समन्वयात्मक ढङ्गले काम गर्न पनि निर्देशन दिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *