‘मेरी संगिनी’ परिवार योजना एप सुरु

- नेपाली हेल्थ

काठमाडौँ, २ असार । नेपाल सी आर एस कम्पनी ले परिवार योजना सम्बन्धि ‘मेरी संगिनी’ नामक मोबाइल एप सुरु गरेको छ । कम्पनीले अस्थाई र छोटो अवधिका परिवार योजना सम्वन्धी साधनहरुको बारे बिस्तृत जानकारी दिने उदेश्यले मेरी संगिनी मोबाइल एप सुरु गरेको हो ।

मेरी संगिनीबाट प्रदान गरिएको अस्थाई तथा छोटो अवधिका परिवार योजनाका साधनहरु सम्बन्धि तथा सो साधनको प्रयोगबाट पर्न जाने साधारण प्रतिअसरहरुको समेत जानकारी प्रजनन् उमेरको जो कोहिलाई अति उपयोगी हुने बताइएको छ ।

यस्तै यो एप किशोर तथा किशोरी एवं नवविवाहित जोडीहरुलाई अत्यन्त उपयोगी रहने नेपाल सी आर एस कम्पनीले जानकारी दिएको छ।

एपमा भएको “प्राय सोधिने प्रश्नहरु” खण्डले परिवार योजनाका अस्थाई तथा छोटो अवधिका साधन प्रयॊगकर्ताहरुलाई अझ बिस्तृत जानकारी दिनुको साथै सम्भाव्य प्रयोगकर्ताहरुलाई साधनहरुको  छनौट गर्न मद्धत गर्ने छ।  साथै एपमा आफु नजिकैको अस्थाई तथा छोटो अवधिका परिवार योजनाका साधन उपलब्ध गराउने औषधि पसल, क्लिनिक र संगिनी सेवा केन्द्रको ठेगाना र नक्शा पनि उपलब्ध हुने हुँदा आफु नजिकैको तालिम प्राप्त र दक्ष सेवा केन्द्रबाट आफुलाई उपयुक्त हुने साधनको सेवा समेत लिन मदत गर्ने छ।

एपको शुभारम्भ गर्ने क्रममा स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. तारा नाथ पोख्रेलले परिवार योजनाका साधनहरुको पहुच बढाउनका निम्ति मोबाइल प्रविधिको भूमिका अत्यन्त महत्वपुर्ण रहेको र मेरी संगिनी एपले उपभोक्ताहरुलाई अस्थाई गर्वनिरोधक साधन बारे सुसुचित छनौट गर्न सहयोग पुर्याउने बताए ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रका निर्देशक डा. राधिका थपलियाले यो एपले परिवार योजना र यस सम्बन्धि विषयमा बिस्तृत जानकारी सजिलो संग हासिल गर्न मद्धत हुने कुरा व्यक्त गरिन ।

नेपाल सीआरएस कम्पनीका प्रबन्ध निर्देशक जीवलाल पोखरेलले मातृ मृत्युदर घटाउन परिवार योजनाको ठूलो भूमिका रहेको भन्दै प्रयोगकर्ता माझ सहि र अद्यावधिक सूचनाको पहुच बढाउनमा संचार प्रविधिको ठूलो महत्व रहेको बताएका छन् । उनले यस एप मार्फत सेवा प्रयोगकर्तालाई सेवा प्रदायकसंग सजिलै जोड्न सक्ने सम्भावना भएको हुँदा सेवाग्राहीहरुलाई सेवाको पहुँच बढाई परिवार योजना सेवाको अपरिपुर्त माग घटाउन समेत मदत पुग्ने जनाएका छन् ।

मेरी संगिनी एप, यूएसएआईडीको आर्थिक एवं सप्स प्लस को प्राबिधिक सहयोगका तथा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रको समन्वयमा नेपाल सी आर एस कम्पनी द्वारा निर्माण गरिएको हो।

नेपाल सी आर एस कम्पनीले सामाजिक बजारीकरणको सिद्धान्त अनुसार बिगत चार दशक भन्दा अघिदेखि परिवार योजना, मातृ तथा बाल स्वास्थ्य र यौन रोगको रोकथामका साधनहरुको बिक्री वितरण तथा व्यवहार परिबर्तन सम्बन्धि कार्यक्रम संचालन गर्दै आएको छ।

यस कम्पनीबाट वितरित परिवार योजनाका साधनहरु नेपालको ७७ ओटै जिल्लामा उपलब्ध छन् । नेपाल सी आर एसद्वारा बितरित गरिएका केहि प्रतिष्ठित ब्राण्डहरुमा ढाल, प्यान्थर, संगिनी तिन महिने सुइ , निलोकन ह्वाईट, सुनौलो गुलाफ, नव जीवन तथा आकस्मिक गर्भ निरोधक चक्की ईकोन रहेका छन्।


Facebook Comment


थप समाचार