‘इक्वेल एक्सीस’ले पाएको डब्लुएचओको ‘वर्ल्ड नो टोवाको डे’ अवार्ड विवादमा
काठमाडौँ, ३० जेठ । विश्व धूमपानरहित दिवसको अवसरमा विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले दिएको अवार्ड नेपालमा भने विवादमा परेको छ ।
डब्लुएचओले यसबर्ष सुर्तिजन्य पदार्थ नियन्त्रणमा उत्कृष्ठ काम गरेको भन्दै नेपालबाट डिजिटल बोर्डकास्ट इनिसेटिभ ईक्वेल एक्सीस भन्ने संस्थालाई यसबर्षको ‘वर्ल्ड नो टोवाको डे ‘ अवार्ड दिएको थियो ।
डव्लुएचओको यो निर्णयपछि नेपालमा सुर्ति नियन्त्रण सम्वन्धी अभियानमा क्रियाशिल संघ संस्थाहरु आश्चर्यमा परेका थिए । यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुले अनविग्यता प्रकट गरेका थिए ।
तर, केही समय पछि थाहा भयो अवार्डका लागि त मन्त्रालय अन्तरगर्तकै राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले सिफारिस गरेको रहेछ । सो कुरा थाहा पाएको मन्त्रालयले गत शुक्रबार नै ईक्वेल एक्सीसलाई के आधारमा सिफारिस गरियो तीन दिन भित्र चित्तबुझ्दो जवाफ लेखि पठाउनु भन्दै स्पष्टीकरण सोधेको छ ।
‘तीन दिनको म्याद तोकेर हामीलाई गत शुक्रबार नै पत्र आएको छ । आज बेलुकासम्म जवाफ जवाफ दिनुपर्ने छ । मैले सम्वन्धित शाखाका अधिकारीहरुसंग जानकारी लिदैछु,’ सूचना केन्द्रकी निर्देशक डा राधिका थपलियाले भनिन् ।
अवार्डका लागि सुटुक्क सिफारिस
मन्त्रालय स्रोतका अनुसार उक्त अवार्डका लागि राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक कुन्जप्रसाद जोशीको हस्ताक्षर भएको सिफारिस पत्र डव्लुएचओमा पुगेको थियो ।
सुर्तिजन्य नियन्त्रण सम्वन्धि अभियानमा नामै नसुनिएको संस्थालाई अवार्ड दिएपछि अभियन्ताहरुले मन्त्रालयका अधिकारीहरुको ध्यानाकर्षण गराएका थिए ।
आफू अनविज्ञ रहेको बताउने मन्त्रालयले डव्लुएचओको नेपाल कार्यालयसंग त्यसबारेमा जानकारी मागेको थियो । सो क्रममा डव्लुएचओले स्वास्थ्य शिक्षा प्रशासक जोशीले उक्त संस्थालाई अवार्डका लागि सिफारिस गरेको जवाफ दिएको थियो । सो जवाफ पछि मन्त्रालयले सूचना केन्द्रलाई स्पष्टीकरण सोधेको हो ।
‘सुर्ति नियन्त्रण सम्वन्धी अभियानमा थुप्रै संघसंस्थाहरु छन् । त्यस्तो अवार्डका लागि सिफारिस गर्दा मन्त्रालयसंग पनि समन्वय गर्नुपर्ने थियो । त्यो भएको देखिएन, सुटुक्क सिफारिस गरेको पाइयो । यसले डव्लुएचओ जस्तो संस्थाले दिएको अवार्डमा समेत विवाद देखियो,’ मन्त्रालयका एक अधिकारीले अगाडी भने, ‘यो अभियानमा नामै नसुनिएको संस्थालाई सुटुक्क सिफारिस गर्दा डव्लुएचओ समेत विवादमा पर्यो ।’
सम्पर्क इमेल : [email protected]