बीएण्डसी सम्वन्धन प्रक्रिया : अहिलेसम्म के के भयो ? सात दिन भित्र पेश गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २८ जेठ । प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीले झापास्थित बीएण्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरले सम्वन्धनका लागि पेश गरेका सम्पूर्ण विवरणसहितको प्रतिवेदन सात दिन भित्र बुझाउन आयोगका पदाधिकारीहरुलाई निर्देशन दिएका छन् ।
शुक्रबार बालुवाटारमा बसेको आयोगको सातौ बैठकमा अध्यक्ष ओलीले सम्वन्धनको विषयलाई टुंगोमा पुग्ने गरी सात दिन भित्र विवरण पेश गर्न आफ्ना पदाधिकारीहरुलाई निर्देशन दिएका हुन् ।
‘एउटै कुरामा धेरै पटक अल्झिरहन हुन्न । बीएण्डसीले सम्वन्धन मागि रहेको छ । के कुरा नमिलेर अल्झिएको हो ? प्रक्रिया र मापदण्ड के कस्तो छ ? आउने शुक्रबार भित्र विवरण चाहियो । ओलीलाई उदृत गर्दै एक जना सदस्यले भने । बीएण्डसीले मापदण्ड पुरा गरेको छ कि छैन ? प्रक्रिया पुगेको छ कि छैन् ? सात दिन भित्र मलाई रिपोर्ट चाहियो । आउदो शुक्रबारसम्म मलाई विस्तृत रिपोर्ट दिनुहोला,’ प्रधानमन्त्रीले आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीलाई निर्देशन दिएका थिए ।
त्यसअघि प्रधानमन्त्री ओलीले नेपाललाई स्वास्थ्य र शिक्षाको हव बनाउने आफ्नो चाहना रहेको बताएका थिए । वितेका दुई बर्षमा आयोगले उल्लेखनीय काम गर्न नसकेको भन्दै ओलीले नकारात्मक सोचका साथ प्रस्तुत हुने परिपाटीले आयोग अघि बढ्न नसकेको कटाक्ष समेत गरेका थिए ।
आजको बैठकमा विएण्डसीको सम्वन्धनको विषय सहित ६ वटा एजेन्डा थियो । तर अरु एजेन्डा सहायक थिए । मुख्य भनेको विएण्डसी नै थियो । यसलाई सम्वन्धनका लागि आवश्यक पर्ने प्रक्रिया पुरा भएको छ कि छैन् सो बारे बुझेर सात दिन भित्र पेश गर्ने र त्यस लगत्तै प्रधानमन्त्रीले आवश्यक निर्णय गर्ने गरी सहमति भएको छ । बैठकमा सहभागी एक सदस्यले भने ।
बैठकमा शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठले बीएण्डसीले सबै नियम प्रक्रिया पुरा गरेको छ भने सम्वन्धनका लागि किन ढिलाई गर्ने भन्दै प्रतिप्रश्न गरेका थिए । उनले केयुको अनुगमनले सम्वन्धन दिन योग्य भनेर छनौट गरिसकेपछि थप ढिलाई गर्नु आवश्यक नभएको प्रतिक्रिया दिएका थिए । स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले मेडिकल शिक्षाका लागि नेपालबाट कति विद्यार्थी विदेशीने गरेका छन् भनेर सोधेका थिए । साढे ६ सय विद्यार्थी गतवर्ष विदेशीएको बताएका थिए । उनले स्वदेशमै पढने बाताबरणको विकास गर्नुपर्नेमा जोड दिएका थिए ।
सम्वन्धनको विषयमा बैठकमा सवालजवाफ भएको थियो । आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले आफूलाई जानकारी भएका उत्तर दिने प्रयास गरेका थिए ।
सम्पर्क इमेल : [email protected]