स्वास्थ्यबाट हटेका राज्यमन्त्री रावत भन्छन्, ‘एक साता अघि नै संकेत पाएको थिएँ’

नवराज रावत

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीका रुपमा म २०७६ मंसिर ४ गते नियुक्त भएको थिएँ । त्यसको भोलिपल्ट अर्थात ५ मंसिरमा सफत लिएर पदवहालीका लागि स्वास्थ्य मन्त्रालय छिरेको थिएँ ।

ठ्याक्कै १८ महिना १६ दिन पछि हिजो (शुक्रबार) मन्त्रालयबाट बाहिरिएँ । मन्त्री बन्दा पनि शुक्रबार र बाहिरिदा पनि शुक्रबार परेको हुनाले मैले शुक्रबार मेरोलागि विशेष दिन हुने गर्दछ है भन्ने गरेको छु ुसाथीहरुलाई ।

कार्यकालको कुरा
डेढ बर्ष भन्दा केही बढी समय स्वास्थ्य राज्यमन्त्रीको रुपमा रहेको मेरो कार्यालय सफल नै रह्यो भन्छु म । हुन त मन्त्री रहेको मन्त्रालयमा राज्यमन्त्रीको खासै जिम्मेवारी हुन्न । ता पनि जति जिम्मेवारी पाएँ, त्यो कुसलता र इमान्दारीपूर्वक निभाएँ भन्छु म ।

जिम्मेवारी सम्हालेको दुई महिना पछि नै अर्थात ९ माघ २०७६ देखि नेपालमा कोरोना देखा पर्‍यो । त्यसपछि मुख्य ध्यान कोरोनामै दिनुपर्ने भयो ।

यसबीचमा स्वास्थ्यमा अल्झिएर रहेको समायोजनको विषय टुग्याँउने काम र स्वास्थ्य संरचना स्थापना गर्ने काममा पनि हाम्रो प्राथमिकता भयो ।

कहिल्यै नसुनिएको कोरोना महामारीसंग लड्ने अनुभव थिएन, तयारी थिएन तर हामीले पहिलो लहरलाई जसो तसो नियन्त्रणमा लियौँ । दोस्रो लहर पनि अहिले नियन्त्रणउन्मुख छ । यो बीचमा खोप ल्यायौँ, खोप अभियानको सुरुवात गर्‍यौँ ।

स्वास्थ्यका थुप्रै संरचनाको स्तरोन्नती भएको छ । ३९६ वटा स्वास्थ्य संस्था बनाउनका शिलान्यास भएको छ । केन्द्रीय, प्रादेशिक र स्थानीय तहका थुप्रै अस्पतालमा पूर्वाधार र उपकरणहरु जोडिएका छन् । अत्याधुनिक उपकरणसहितका प्रयोगशालाहरुको थपिएका छन् ।

कोरोनाकै कारणले किन नहोस स्वास्थ्यको बजेट ‘भोल्युम’ र प्रतिशत बढेको छ । त्यसकारणले मैले आफ्नो कार्याकाल सफल नै भन्छु ।

हटछु भन्ने संकेत पाएको थिएँ
मन्त्रीमण्डल पुर्नगठन हुने चर्चा चले देखि नै हटनुपर्न सक्छ भन्ने त भै नै हाल्ने भयो । राज्यमन्त्री पद स्थायी होइन थियो । त्यसैले मेरो जिम्मेवारीको कुरा प्रधानमन्त्रीले चाहेको खण्डमा रहन्छु अन्यथा हटन पनि पर्न सक्छ भन्ने मनस्थिति थियो ।

पछिल्लो एक साताबाट भने स्वास्थ्य पनि परिवर्तन हुनसक्छ भन्ने चाल पाएको थिएँ । त्यसैले म आफ्नो तयारीमा थिए ।

तीन दिन अघि त मेरा सचिवालयका सदस्यहरुलाई समेत भनेको थिएँ । ‘शुक्रबार मेरो विशेष बार हो । त्यसबेलासम्म केही हुनसक्छ है तिमीहरुले पनि आफ्नो तयारी गर्नु,’  भनेर ठट्टा समेत गरेको थिएँ ।हुन पनि त्यहि भयो ।

मलाई राज्यमन्त्रीबाट हटनु पर्‍यो भन्ने कुनै गुनासो छैन् । यो स्वभाविक प्रक्रिया हो ।

नयाँ मन्त्रीलाई सुझाव
शेरबहादुर जी नयाँ स्वास्थ्य मन्त्रीको रुपमा आउनु भएको छ । स्वास्थ्यको अहिलेको प्राथमिकता भनेको कोरोना नियन्त्रण, जनतालाई निशुल्क खोप उपलव्धता गराउनु नै हो ।

हामीले प्रक्रिया शुरु गरिसकेका छौँ । त्यसलाई फलोअप गरी त्यसमा ध्यान केन्द्रीत गरी काम गर्न मेरो अनुरोध छ । यस्तै स्वास्थ्यका संरचना बन्ने क्रममा छन् । त्यसलाई फलोअप गरी अघि बढ्नु पर्दछ ।

समग्रमा भन्नुपर्दा स्वास्थ्यको मापदण्ड बनाएर नीतिगत रुपमा जसरी काम भइरहेको छ, त्यसलाई इमान्दारीपूर्वक लागू गर्दै जानुहोस । सबैलाई समेटेर अघि बढनुहोस मेरो शुभकामना छ ।

(कुराकानीमा आधारित)

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *