स्वास्थ्यकर्मीको सुरक्षा सम्वन्धी अध्यादेश छिटै कार्यान्वनयमा आउँछ : खगराज अधिकारी

काठमाडौ, २० जेठ । नेकपा एमालेको स्वास्थ्य विभागले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी ऐन २०६६ लाई संसोधन गर्न बनेको अध्यादेश छिटै लागू हुने दावी गरेको छ । उसले आफूले पेश गरेका केही सुझावहरु पनि जारी हुने अध्यादेशमा समेटिएर आउने विश्वास लिएको छ ।

विहीबार अपरान्ह गरेको भरच्युअल पत्रकार अन्तरक्रिया कार्यक्रममा विभागका प्रमुख एवं पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी ऐन २०६६ लाई संसोधन गर्न बनेको अध्यादेश छिटै आउने बताए । उनले मस्यौदामा छुट भएका विषयहरुबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको भन्दै आउने अध्यादेशमा ती विषय समेत जोडिएर आउने विश्वास व्यक्त गरे ।

‘स्वास्थ्य मन्त्रालयले तयार गरेको अध्यादेश अहिले कानून र अर्थ मन्त्रालयको राय लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा पुगिसकेको छ । त्यहाँबाट पनि अहिले मन्त्रिपरिषदको विधेयक समितिमा छलफलको क्रममा रहेको छ । अब प्रधानमन्त्रीलाई ब्रिफिङ गरी अन्तिम रुप दिने तयारीमा छ । त्यसपछि मन्त्रिपरिषदले सिधै राष्ट्रपतिकोमा पठाउने छ,’ उनले भने ।

उनले अध्यादेशमा संकटकालको बेलामात्रै नभई सधैभरी नै चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने उपर कडा कारवाही गर्ने कानून ल्याउनका लागि सुझाव दिएको सुनाए । उनले स्वास्थ्यकर्मीको उपचार देखि २५ लाख स्वास्थ्य बीमाका कुरामा पनि प्रष्टपार्न कोशिश गरिएको बताए ।

एक प्रसंगमा उनले नेपाल चिकित्सक संघले अल्टिमेटम दिएर राजनीति गर्न खोजेको आरोप लगाए । उनले अल्टिमेटमकै कारण अध्यादेश आउन ढिलो भएको ठोकुवा गरे । ‘अध्यादेश ल्याउनका लागि हामीले पहल थालेपछि केही साथीहरुले अल्टिमेटम दिन थाल्नु भयो । अब त अध्यादेश आउने भयो । यसको जस लिनु पर्छ भनेर हो कि के हो ? यसले सरकारलाई थप सशंकित बनायो । काम भइरहेको थियो, तर थप दवाव बनेर किन बाठो बन्नु । यसैले गर्दा ढिलाई भएको हो । नत्र अहिलेसम्म आइसक्दथ्यो ।’

उनले अध्यादेश चिकित्सकहरुको मात्रै नभएको भन्दै नर्स तथा अरु स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई समेत उत्तिकै महत्व दिएर काम अघि बढाएको बताए ।

कार्यक्रममा पार्टीसम्वध स्वास्थ्यका पेशागत संगठन तथा ट्रेड युनियनका प्रतिनिधिहरुले अध्यादेशका बारेमा बोलेका थिए । उनीहरुले अध्यादेशमा चिकित्सकसंगै अन्य स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा आवद्ध कर्मचारीहरुलाई समेत सम्वोधन गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा डा कृष्णप्रसाद अधिकारी, डा जागेश्वर गौतम, डा सन्तोष पौडेल, डा मोहन कृष्ण श्रेष्ठ, डा रविन खड्का, डा कीर्तिपाल सुवेदी, डा विधान आचार्य, अप्सरा पाण्डे, डा पुष्पमणि खराल, गोविन्द अकेला, डा विधान आचार्य, क्षितिज गड्तौला, डा पदम नेपाली लगायतले बोलेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *