खोप चाहियो भन्दै राष्ट्रपति भण्डारीले पठाईन अमेरिकी राष्ट्रपति वाइडेनलाई पत्र

अमेरिकी अधिकारीलाई राष्ट्रपति भण्डारीको पत्र हस्तान्तरण गर्दै राजदूत खतिवडा

काठमाडौँ, १५ जेठ । कोरोनाबिरुद्धको खोप उपलव्ध गराउन अनुरोध गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई पत्र पठाएकी छन् । उक्त पत्र अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले त्यहाँका राज्य विभाग बरिष्ठ सल्लाहकार इर्भिन मासिङ्गा मार्फत हस्तान्तरण गरेका छन् ।

सो अवसरमा राजदूत खतिवडाले नेपालमा कोरोना महामारीको पछिल्लो अवस्था र खोप अभियानबारे जानकारी गराएका थिए । यस्तै उनले अमेरिका नेपालको खोप अभियानलाई सहयोग गरोस भन्ने चाहेको बताए । उनले अमेरिकामा थन्किएर रहेको एस्ट्राजेनेका खोपको ठूलो आवश्यकता नेपालमा परेको समेत जानकारी गराएका थिए । यस्तै नेपालले जोन्सन एण्ड जोन्सनसंग खोप खरीदको प्रक्रिया अघि बढाएको समेत बताएका थिए ।

जवाफमा मासिङ्गाले नेपालको पछिल्लो अवस्थाबारेमा जानकारी रहेको र अमेरिका यसप्रति गम्भीर रहेको बताए । उनले अमेरिकी सरकार नेपाललाई आवश्यक सहयोग गर्ने समेत आश्वासन दिएको दूतावासद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

शुक्रबार मात्रै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खोपको विषयमा साता दश दिन भित्र ब्रेक थ्रु हुने बताएका थिए । उनले अमेरिका र चीनबाट ५० लाखको दरले एक करोड खोप खरीद गर्ने तयारी भएको समेत सुनाएका थिए ।

यसअघि राष्ट्रपति भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई पत्र र चिनियाँ राष्ट्रपति सीजिनपिङलाई टेलिफोनमार्फत खोपका लागि आग्रह गरेकी थिइन । टेलिफोन बार्ता लगत्तै चीनले थप १० लाख खोप दिने घोषणा गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *