कोरोनाको उपचार गर्न एयरलिफ्ट गर्दै बीएण्डसी जाँदै

काठमाडौँ, २ जेठ । कोरोनाको पहिलो लहर शुरु हुँदा झापा मोरङसहितका पूर्वी नेपालबाट थुप्रै बिरामीको एयरलिफ्ट गरी काठमाडौँ ल्याइयो र उपचार गरियो तर अहिले परिस्थिति उल्टिएको छ ।

यसपटक थुप्रै गम्भिर बिरामी एयरलिफ्ट गरी कोरोना उपचारका लागि काठमाडौँबाट झापा गइरहेका छन् । कोभिडबिरामीका लागि आवश्यक उपकरण सहित उपचार सेवा शुरु गरेपछि बिर्तामोडस्थित बीएण्डसी टिचिङ अस्पतालमा उपत्यकाबाट बिरामी जाने क्रम बढेको हो ।

उपत्यका मात्रै होइन अहिले नेपालगञ्ज, मुगु, डोटी, कैलाली, दाङ, चितवन, बीरगञ्ज, ओखलढुंगा, सोलुखुम्बु, पोखरा लगायतका ठाँउबाट एयरलिफ्ट गरी २२ जना बिरामी वीएण्डसी पुगेका छन् ।

‘एयरलिफ्ट गरी ल्याइएका सबै गम्भीर अवस्थाका थिए तर अहिले सबैको अवस्था सुधारोन्मुख छ । कोही त डिस्चार्ज हुने अवस्थामा पुगिसक्नु भएको छ,’ वी एण्डसीका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले भने ।

उनले कोभिडका बिरामीको उपचारका लागि बी एण्ड सीमा अहिले २०० बेड छुट्याएको बताए । त्यसमा ७० वटा आइसीयू र ६५ वटा भेन्टिलेटर रहेको जानकारी दिए ।

‘हामी देश र जनताप्रति सधै उत्तरदायी रहेका छौं । कोभिड महामारीका बेला उपचार अभावमा कोही पनि व्यक्ति ज्यान गुमाउन नपरोस भन्नेमा सजक रहेका छौं । हाम्रै विश्वासले राजधानी सहित टाढा टाढाबाट एयरलिफ्ट गरी यहाँसम्म आइपुग्नु भएको छ । जीवन रक्षाका लागि हामीले हरसम्भव स्तरीय उपचार सेवा दिने प्रयास गरेका छौँ,’ प्रसाईंले भने ।

यसअघि नै मेडिकल कलेज सञ्चालनका लागि सम्पूर्ण पूर्वाधार तयार गरेको वीएण्डसीले अहिलेसम्म सम्वन्धन पाएको छैन् । यहीबीचमा उसले पूर्वाञ्चल क्यान्सर अस्पताल समेत सञ्चालनमा ल्याएको छ ।

‘हामीले मेडिकल कलेज सञ्चालनका लागि आवश्यक सबे मापदण्ड पुरयाएका छौँ । अहिले पनि अत्याधुनिक उपकरण र दक्ष चिकित्सकबाट सेवा दिएकैले नेपालको सूदुरपूर्वमा रहेको यस अस्पताललाई विश्वास गरी यो महामारीको बेलामा आइरहनु भएको हो । यसलाई राज्यका सम्वन्धित निकायमा रहनु भएकाहरुले हेर्नु भएको होला भन्ने विश्वास छ,’ कार्यकारी निर्देशक प्रसाईले अन्त्यमा भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *