‘अस्पतालमा अक्सिजन अभाव भयो, घरमा राखिएका सिलिन्डर फिर्ता गरौँ’

काठमाडौँ, ३० बैशाख । राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा सन्तोष पौडेलले बिहीबार विहानै फेसबुकमा स्टाटस लेखे, ‘अक्सिजनको चरम अभाव, रातभर त थामियो अव गाह्रो भो । प्लीज हेल्प !’

उता जोरपाटीको शंकारापुर अस्पतालले पनि केही बेर अघि फेसबुकमा सूचना जारी गर्दै अक्सिजन अभावका कारण अब थप बिरामी भर्ना लिन नसक्ने बताएको छ ।

बसुन्धराको कान्तिपुर जनरल अस्पतालले बुधबार नै यस्तो सूचना जारी गरेको थियो । उसले अक्सिजन सकिएकोले कोभिडका थप बिरामी भर्ना लिन नसक्ने बताएको थियो ।

राजधानीका ग्राण्डी, मेडिसिटी, नेपाल मेडिकल कलेज, ओम, हेल्पिङ हेण्ड, मेडिकियर, अल्का लगायतका अस्पतालहरुले यसअघि नै थप कोभिडका बिरामी भर्ना गर्न नसक्ने भन्दै हात उठाइसकेका छन् । सबैको कारण एउटै छ अक्सिजन ।

र यो समस्या काठमाडौँ उपत्यकाको मात्रै होइन । भैरहवा, वुटवल, कपिलवस्तु दाङ नेपालगञ्ज, धनगढी लगायतका पश्चिमका शहरमा पनि उस्तै भयावह रुपमा देखिएको छ ।

एक्कासी यस्तो समस्या कसरी आयो ?
यसपटक अस्पताल पुगेका अधिकांश कोभिडसंक्रमितहरु अक्सिजन सहयोग लिनुपर्ने खालका छन् । त्यसमा पनि हाइफ्लो अक्सिजन लिनेहरुको संख्या बढी छ । त्यसैले अस्पतालमा अक्सिजन खपत दशौं गुणा बढी भएको छ ।

उपचार गर्ने अधिकांश अस्पतालमा अक्सिजन प्लान्ट छैन् । सिलिन्डरको भरमा रहेका ती अस्पतालहरुले बिरामीको चाप र अहिलेको माग अनुसार आपूर्ति पाउनै सकेनन् ।

काठमाडौँका अस्पतालमा अक्सिजन अभाव हुन थाल्यो भन्ने वित्तिकै आम सर्वसाधारणले सिलिन्डर एउटा दुईवटा वा त्यो भन्दा धेरैका दरले घर घरमा राख्न थाले । यसले गर्दा एक दुई दिन भित्रै सिलिन्डरको चरम अभाव भयो ।

स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, ‘अहिलेको समस्याको एउटा मुख्य कारण हप्तौँ देखि भरी सिलिन्डर घरघरमा राख्नु हो । नत्र अहिले सरकारी अस्पतालहरु ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताल लगायतमा पनि यस्तो हाहाकार हुन्थ्यो त ? राजधानीकै अरु निजी अस्पतालहरुले यसरी सूचना निकाल्नु पथ्र्यो र । ५० वटा सिलिन्डर भर्न लैजाँदा अस्पतालमा २५ वटा फिर्ता हुने र बाँकी बीचबीचबाटै गायव हुने अवस्था भयो । त्यो भनेको सिलिन्डर घर घरमा गायव भयो ।’

ती अधिकारीले अव पछि चाहिएला कि भनेर घर घरमा स्टोर गरी राखिएका सिलिन्डर तत्काल फिर्ता नगर्दा सम्म समाधान हुन गाह्रो हुने सुनाए ।

स्वास्थ्यका अधिकारीहरुले काठमाडौँ उपत्यकामा हजारौं घरमा अहिले भरी सिलिन्डर पछि आफूलाई चाहिदा अभाव होला कि वा पछि चाहिन सक्छ भनेर होल्ड गरि राखेको अनुमान गरेका छन् । यी सिलिन्डर अहिले अस्पतालमा उपलव्ध गराउने हो भने गम्भीर बिरामीका लागि धेरै राहत हुने उनीहरुले बताउँछन् ।

अक्सिजन सप्लाई व्यवस्थापन सीसीएमसीमा पुगेपछि झनै अस्तव्यस्त
गत साता स्वास्थ्यले विरामी संख्याको आधारमा अक्सिजन वितरण हुने भन्दै उद्योगहरुलाई चिठी लेखेपछि सो बिषय विवादमा परयो । त्यसपछि अक्सिजन व्यवस्थापनको जिम्मा सिसिएमसीले लिएको थियो । तर अहिले झनै अस्तव्यस्त बनेको छ । ‘स्वास्थ्यले एक दुई दिन त कम्तीमा भएपनि मिलाएको थियो । सीसीएमसीले झनै सकेन । सिलिन्डर अभाव हुने क्रम झनै बढ्यो । पहुँचवाला अस्पतालहरुले केही पाए, पहुचवाला व्यक्तिका घर घरमा सिलिन्डर गयो होला तर आम जनताको उपचार गर्ने अस्पतालहरु झनै अफ्टेरोमा परेका छन्,’ स्वास्थ्यका ती अधिकारीले भने । यस्तो अवस्था आउनुमा अहिले मन्त्रालयहरु वा निकायबीचको समन्वयको अभाव हुनु भएको बताए ।

अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटरबाट समाधानको प्रयास
स्वास्थ्य सेवा विभागले पछिल्लो एक दुई दिनमा २०० वटा कन्सन्ट्रेटर, ४०० वटा नयाँ सिलिन्डर अहिले अभाव भएका अस्पतालहरुमा वितरण गरेको बताएको छ । आज भोलिमै अझै केही थान कन्सन्ट्रेटर र सिलिन्डर वितरण गर्ने योजना रहेको जनाएको छ । तर यो प्रयाप्त होइन । लिक्वड अक्सिजन प्लान्ट नजोडेसम्म यो दीर्घकालिन समाधान भने नभएको स्वास्थ्य अधिकारीहरु बताउँछन् ।

चीनबाट अक्सिजन प्लान्ट ल्याउने तयारी
सरकारले १०० बेड माथिका सबे अस्पताललाई १५ दिन भित्र अक्सिजन प्लान्ट जडान गर्न भनेको छ । तर कतिपय अस्पताल सञ्चालकहरुले भनेको समयमा सो जडान हुन गाह्रो हुने बताइसकेका छन् । तर स्वास्थ्यका अधिकारीहरुले चीनबाट अक्सिजन प्लान्ट र अक्सिजन सिलिन्डर, कन्सन्ट्रेटर ल्याउने योजनामा रहेको बताएका छन् । सम्भवत एक

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *