‘रेम्डेसिभिरको अभाव हुँदैन्, कृपया बढी मूल्य तिरेर खरीद गर्ने र घरमै थुपार्ने काम नगरौँ’

  • पवन आचार्य, महासचिव नेपाल औषधि आयातकर्ता संघ
– पवन आचार्य, महासचिव नेपाल औषधि आयातकर्ता संघ

कोभिड – १९ को संक्रमण बढदै जाँदा यसबाट गम्भीर अवस्थामा पुग्ने बिरामीको संख्या पनि उल्लेख्य रुपमा बढेको छ । अस्पतालमा गम्भीर बिरामीको संख्या बढ्दा त्यस्ता बिरामीलाई प्रयोग हुँदै आएको औषधि रेम्डेसिभिरको माग पनि अत्यधिक बढेको छ । माग बढ्दा कतिपय बिरामीका आफन्तले यो औषधि (इन्जेक्सन) व्ल्याकमा कैयौं गुना बढी रकम तिरेर किन्ने गरेको र किन्नुपरेको समाचार सुनिएको छ । तर,  अव त्यो समस्या छैन् र हुँदैन ।

औषधि आयातकर्ता हाम्रा साथीहरुले औषधि व्यवस्था विभागबाट आयात अनुमति लिएर पछिल्लो पटक बंगलादेशबाट ठूलो मात्रामा रेम्डेसिभिर ल्याएका छन् र ल्याउँदै छन् । हिजो (मंगलबार) पनि बंगलादेशबाट १० हजार भाइल सरकारले र २२ हजार भाइल व्यावसायीले गरी कुल ३२ हजार भाइल रेम्डेसिभिर आइसकेको छ । यसले अहिलेको आवश्यकता सहज रुपमा पूर्ति गर्नेछ ।आगामी साता दश दिनमा थप २० २० हजार आउँदै छ । र यो क्रम निरन्तर चल्नेछ ।

औषधि व्यवस्था विभाग र औषधि आयातकर्ता संघ यो महामारीमा रेम्डेसिभिर र अरु अत्यावश्यक औषधिको अभाव नहोस भन्नका लागि गम्भीरतापूर्वक लागि नै रहेको छ ।

रेम्डेसिभिरकै कुरा गर्दा अरु थुप्रै आयातकर्ताहरुले अनुमति लिईसकेका छन् । अझै एक लाख भन्दा बढी भाइल रेम्डेसिभिर आउने क्रममा छ । तसर्थ कोही नहतारिऔँ । नआत्तिऔँ । रेम्डेसिभिरको अभाव हुँदैन ।

कतिपय व्यक्ति तथा संस्थाले यसअघि जस्तै अभाव हुन्छकि भनेर अनावश्यक रुपमा नक्कली कागजात बनाई रेम्डेसिभिर लिने प्रयासमा लाग्दै गरेको सुनिन आएको छ । कृपया यसो नगरौँ । तपाईँहरुले अनावश्यक रुपमा रेम्डेसिभिर लिने र घरमा लगेर राख्ने गर्दा यसले कृतिम अभाव पैदा गर्छ ।

अर्को कुरा,  घरमा लगेर अनावश्यक रुपमा राख्दा न तापक्रम मिल्छ न त त्यसको प्रभावकारी उपयोग हुन्छ । बरु यसले औषधिमा अनावश्यक अभाव सिर्जना गर्छ । जसरी पायो त्यसरी आफुखुशी भण्डारण गर्दा त्यसको गुणस्तरमा समेत समस्या आउनसक्छ । त्यसैले यो महामारीको बेला सबैले सबैलाई सहयोग गरौँ । अनावश्यक रुपमा रेम्डेसिभिर लिएर भण्डारण नगरौँ ।

फेरी पनि भन्दछु अब बजारमा रेम्डेसिभिरको अभाव छैन् । त्यसैले सरकारले तोकेको मूल्यमा सहज ढंगले खरीद गरौँ । कालाबजारी गर्ने, बढी मूल्य लिएर खरीद बिक्री गर्ने कार्यमा कोही नलागौं । त्यस्तो थाहा पाउनुहुन्छ भने स्थानीय प्रशासन र प्रहरीलाई खवर गरौँ ।

यो महामारीका बेला सबैले सबैलाई सहयोग गरौँ । मैले फेरी पनि भन्न चाहन्छु अभाव हुने डरले अनावश्यक रुपमा रेम्डेसिभिर खरीद नगरौँ । बढी मूल्य तिर्नुपर्ने अवस्था आउने भनेकै अनावश्यक रुपमा खरीद गरी भण्डारण गर्नेहरुकै कारणले हो । यो कुरालाई गम्भीरतापूर्वक लिऔँ । महामारीबिरुद्ध हामी सबै एक भएर लागौँ । बाँचौं र बचाँऔं ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *