वीरको सर्जिकल भवनमा अझै शुरु भएन कोभिड उपचार, ट्रमाले १३५ बिरामी भर्ना लियो

काठमाडौँ, २८ बैशाख । सरकारले वीरको सर्जिलक भवनलाई ५०० शैय्याको कोरोना डेडिकेटेड हस्पिटलको रुपमा तत्काल सञ्चालनमा ल्याउने भनेको थियो । तर अहिलेसम्म सञ्चालनमा आएको छैन । दुर्घटनाका घाइते तथा चोटपटक लागेकाहरुको उपचार गर्न कहलिएको
राष्ट्रिय ट्रमा सेन्टरले १० शैय्या आइसीयू सहित १३५ शैय्या सञ्चालनमा ल्याइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई साता अघि नै सर्जिकल भवनमा २०० देखि ५०० शैय्याको कोभिड अस्पताल बनाउने बताएको थियो । गत साता २०० शैय्याको सञ्चालनमा ल्याउने भन्दै गर्दा मन्त्रिपरिषदको बैठकले ५०० शैय्याको कोभिड डेडिकेटेड हस्पिटल बनाउने निर्णय गर्दै तत्काल सञ्चालनमा ल्याउने बताएको थियो । तर त्यहाँ अहिलेसम्म सेवा प्रारम्भ भएको छैन् ।

अस्पतालका निर्देशक डा शान्ता सापकोटाले अक्सिजन अभावको कारण सेवा शुरु गर्न नसकिएको बताइन । उनले भनिन्, ‘तपाईँलाई थाहा छ । अहिले अस्पतालहरुलाई अक्सिजन अभाव छ । नयाँ सर्जिकल भवनमा आउने बिरामीका लागि पहिले अक्सिजन सुनिश्चित गर्नु पर्ने देखियो । त्यसैले हामीले आइतबार सोमबारदेखि सञ्चालन गर्ने भने पनि सेवा सुरु गर्न सकेनौं ।’

अहिले वीर अस्पतालको पुरानो भवनमा करीव डेढ सय जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

ट्रमा सेन्टरका निर्देशक डा सन्तोष पौडेलले अहिले आफूकहाँ १३५ बढी विरामी भर्ना भइसकेको भन्दै थप बिरामी भर्ना लिनका लागि केही तयारी प्राविधिक तयारी गर्नुपर्ने भएको बताए । ‘केही नर्सहरु चाहिने भयो । कोभिडको लागि छुट्टै नर्सिङ स्टेशन, चेन्जिङ रुमहरु चाहियो । त्यो तयार गर्दैछु,’ उनले भने ।

अहिले धेरै स्टाफहरु पनि आलोपालोमा आउनुपर्ने भएकोले जनशक्ति केही अभाव भएको समेत जानकारी दिए । ट्रमाले पढ्दै गरेका नर्सिङ स्टाफको समेत सहयोग लिएर काम गर्ने बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *