कोरोनाका बिरामी रहेका काठमाडौँकै अस्पतालमा अक्सिजनको चरम अभाव

काठमाडौँ, २५ बैशाख ।  बसुन्धरास्थित कान्तिपुर जनरल हस्पिटलमा ५० बढी कोरोनाका बिरामी छन् । तर सो अस्पतालमा अक्सिजनको चरम अभाव देखिन थालेको छ । ‘नयाँ बिरामी भर्ना गर्न त बन्द नै गरिसक्यौं । भएका पुराना बिरामीलाई अक्सिजनको कसरी व्यवस्थापन गर्ने भन्नेमा छौं,’ अस्पतालका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले भने । उनले अक्सिजन यति हाहाकार हुन्छ भन्ने आफूले कल्पनासम्म नगरेको सुनाए । ‘मान्छेहरु अक्सिजन नपाएर तलमाथि हुने अवस्था आइसकेको छ । राज्यका जिम्मेवार व्यक्ति तथा निकायहरुलाई खबर पुर्‍यायौँ तर यसको सुनुवाई भएको छैन् । अक्सिजनको सप्लाई नै रोकिन थाल्यो,’  श्रेष्ठले भने ।

निजी अस्पताल सञ्चालकहरुको संस्था अफिनका बरिष्ठ उपाध्यक्ष समेत रहेका अल्का अस्पतालका अध्यक्ष कुमार थापाले शुक्रबार नै बिज्ञप्ती निकालेर अक्सिजनका कारण थप भर्ना लिन नसक्ने बताइसकेका छन् । उनले भने, ‘अहिले ६० भन्दा बढी बिरामी छन्, अक्सिजनको अभाव छ । हाम्रो प्लान्टले भ्याउँदैन् । अस्पतालमा भर्ना भइसकेका बिरामीलाई पनि कसरी पुरयाउने जस्तो अवस्था भइसकेको छ । त्यसैले सूचना निकाल्न बाध्य भयौँ । अक्सिजनको तत्कालै व्यवस्थापन भएन भने ठूलो दुर्घटना हुनसक्छ । राज्यले यतिवेला सबै कुरा छोडेर अस्पतालमा अक्सिजनको सहज आपूर्तिको व्यवस्थापन गर्नुपर्ने छ ।’

थापाले अहिले काठमाडौ उपत्यकाका अधिकांश अस्पतालको समस्या अक्सिजन भएको बताए ।

सानेपास्थित स्टार अस्पतालका डा सन्देश जिसीले संक्रमितको संख्या बढ्दै गएका बेला अस्पतालमा अक्सिजन अभाव हुँदा उपचारमा निकै समस्या भएको बताए ।

‘हामीले सचिवालय मार्फत प्रधानमन्त्री केपी ओली समक्ष पनि अक्सिजन समस्या भयावह रुपमा देखिएको बताइसकेका छौँ । अस्पतालका पेटी पेटीमा कोरोना संक्रमित बिरामी ल्याएर छाडन थाले, एकातिर बेड अभाव छ । अर्कोतिर अक्सिजन अभाव छ । राज्यले तत्कालै यस विषयमा युद्धस्तरमा काम गर्नु पर्ने देखियो,’ उनले  बताए। उनले कोरोना बिरामीको उपचार गर्ने उपत्यकाका अरु अस्पतालमा पनि अक्सिजनको चरम अभाव भएको आफूले थाहा पाएको सुनाए ।

स्वास्थ्य मन्त्रालय भन्छ – हामीले त अप्टिमम लेभलमा गरिसक्यौँ, अब हामीमात्रै ले हुँदैन

उपत्यकाका अस्पतालमा अक्सिजन अभावको विषयमा स्वास्थ्यमन्त्रालयलाई थाहा छ कि छैन् भन्ने प्रश्नमा सह प्रवक्ता डा समिरकुमार अधिकारी भन्छन्, ‘एकदमै थाहा छ । तर हामीले मात्रै गरेर हुने अवस्था भएन । स्वास्थ्यले त अप्टिमम लेभलमा काम गरिसकेको छ ।’

उनले यहि अवस्था जारी रहे अबको एकसाता दश दिन भित्रै देश भयावह अवस्थामा पुग्ने चेतावनी दिए ।

‘अहिले भन्दा विभिन्न आरोप आउँला । तर बास्तविकता बताउनै पर्छ । अस्पतालहरुमा अक्सिजन छैन् । अस्पतालले विरामी म्यानेज गर्न सकेका छैनन् । थप भर्ना नलिदा धेरै बिरामी घरमै छन् । उपचार गनैै पर्ने बिरामी घरमा हुँदा त्यसले अवको अवस्था के हुन्छ भनेर अहिले नै अनुमान गर्न सकिन्छ । मान्छेहरुले स्वास्थ्यले गरेन वा गर्न सकेन भन्छन्, यो महामारीका बेला स्वास्थ्यले मात्रै गर्न सक्दैन, सबै निकायले एकजुट भएर गर्नुपर्छ । हामीले त पहिले देखि नै यो अवस्था आउन सक्छ भनेर भन्दै आएका हौँ,’ डा अधिकारीले भने ।

यसअघि बिहीबार गृहमन्त्रालयले ६ हजार बढी सिलिन्डर जफत गरि विभिन्न अस्प्तालमा बाँढने तयारी गरेको भनेर खबरहरु सार्वजनिक भएको थियो ।

तर स्वास्थ्यका अधिकारीहरुले त्यसमा पनि सत्यता नभएको पाइएको छ ।

‘हामीले पनि जफत भएका अस्पतालहरुलाई ती सिलिन्डरहरु वितरण गर्ने भनेर निर्णय गरयौँ तर पछि त्यो मात्रामा सिलिन्डर जफत भएको भन्ने कुरा नै सही होइन भन्ने कुरा सुनियो । यसले झनै निरासा बनाएको छ,’ मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

अक्सिजन अभाव उपत्यकामा मात्रै होइन उपत्यका बाहिरका धेरै अस्पतालमा भएको पाइएको छ । हटस्पट भएको लुम्बिनी प्रदेशको नेपालगञ्ज, बुटवलका अस्पतालहरुले थप विरामी भर्ना लिन नसकिने बताउन थालेका छन् ।

बिराटनगर, चितवन, पोखरा, बिराटनगर जस्ता ठूला शहरमा पनि अक्सिजन अभाव भएको खबर आएको छ ।

सरकारले तत्कालै यो अवस्थामा ध्यान नदिए अवस्था भयावह बन्ने चेतावनी चिकित्सक तथा अस्पताल सञ्चालकहरुले दिएका छन् ।

कतिपय अक्सिजन उद्योगका सञ्चालकहरुले कोरोना महामारी बढेसंगै कतिपयले घरमै अनावश्यक रुपमा सिलिन्डर लगेर होल्ड गरेको बताउने गरेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *