कोरोनाविरुद्वको खोप छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्रसंघलाई आग्रह

काठमाडौं, २४ बैशाख । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालले कोभ्याक्स सुविधा अन्तर्गत पाउने कोभिड–१९ विरुद्वको खोप सक्दो छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्र संघलाई अनुरोध गरेका छन् ।

नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग आज भएको टेलिफोन संवादमा उपप्रधानमन्त्री पोखरेलले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट पाउने कोभ्याक्स अन्तरगतको खोप सक्दो छिटो नेपाल ल्याउनका लागि सहजीकरण गरिदिन आग्रह गरेका हुन् ।

‘भाइरसको फैलावट रोक्ने एउटै मात्र उपाय भनेको खोप हो, त्यसकारण नेपालले कोभ्याक्स अन्तरगत प्राप्त गर्ने खोपमा संयुक्त राष्ट्रसंघको सहजीकरणको अपेक्षा गरेको छ,’ उपप्रधानमन्त्री पोखरेलले भने ‘यसका साथै भेन्लिटेलर, पीपीई, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँग सम्बन्धित सामाग्री, अस्थायी अस्पताल स्थापनाका लागि आवश्यक पूर्वाधार र आवश्यक विज्ञ जनशक्ति लगायतका विषयमा नेपालले सहयोगको अपेक्षा गरेको छ ।’

नेपालीहरुलाई खोप सुविधा उपलब्ध गराउन नेपाल सरकारले कुटनीतिक पहल गरिरहेको उपप्रधानमन्त्री पोखरेलले जानकारी गराए । उनले भने, ‘कोरोनाविरुद्वको खोप विश्वकै नागरिकहरुको सार्वजनिक चासोको वस्तु हो भन्ने हामी विश्वास गर्छौ, खोप कुन देशको हो भन्ने कुराले मानवीय ऐक्यबद्धतालाई असर गर्नुहुँदैन् ।’

जवाफमा संयुक्त राष्ट्रसंघकी नेपालस्थित संयोजक साराले आफ्नोतर्फबाट खोप ल्याउन सक्दो सहयोग गर्ने प्रतिबद्दता जनाईन । उनले सहयोगका लागि आवश्यक छलफल गर्न छिट्टै उपप्रधानमन्त्री पोखरेललाई भेट्ने चाहना पनि व्यक्त गरिन ।

कोभ्याक्स अन्तरगत नेपालले २० प्रतिशत जनसंख्यालाई पुग्ने कोभिशिल्ड खोप पाउनुपर्नेमा अहिलेसम्म ३ लाख ४८ हजार डोजमात्र प्राप्त गरेको छ । नेपाल सरकारले खरिद गरेको २० लाखमध्ये १० लाख डोज नेपाल आइसकेको छ भने बाँकी १० लाख डोज खोप अझै आउन बाँकी छ ।

यसैगरी, भारत सरकारबाट १० लाख डोज, भारतीय सेनामार्फत नेपाली सेनालाई १ लाख डोज र चीनबाट ८ लाख डोज खोप नेपालले प्राप्त गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *