तीन हजार भाइल रेम्डेसिभिर आज दिउसो काठमाडौँ आइपुग्दै

काठमाडौँ, २१ बैशाख । कोभिड – १९ का जटिल बिरामीलाई प्रयोग हुने औषधि रेम्डेसिभिर तीन हजार भाइल आज दिउसो २ बजेसम्म काठमाडौँ आइपुग्ने भएको छ । औषधि आयात गर्ने संस्था हाम्रो मेडि कन्सर्नले बेक्सिम्को बंगलादेशबाट ल्याउन अनुमति पाएको २० हजार भाइलमध्ये आज तीन हजार भाइल रेम्डेसिभिर काठमाडौँ आइपुग्ने भएको हो ।

‘रेम्डेसिभिर आउँदैछ । सम्भवत अवको तीन चार घण्टामा काठमाडौं आईपुग्छ,’ हाम्रो मेडि कन्सर्नका प्रमुख शम्भु कार्कीले भने । उनले आएको औषधिहरु औषधि व्यवस्था विभागसंग समन्वय गरी कोभिड उपचार गर्ने सबै अस्पतालहरुमा वितरण गर्ने जानकारी दिए ।

‘तत्काललाई यसले काम चल्न सक्छ । भोली पर्सीमै अर्को कम्पनीबाट पनि रेम्डेसिभिर आउँदै छ । त्यसपछि पुन हाम्रै पनि आउँदैछ । त्यसैले रेम्डेसिभिरको अभाव नहोला,’ कार्कीले भने ।

आयातकर्ता र विभागले सोमबार बेलुकासम्म रेम्डेसिभिर आइपुग्ने बताएको थियो । तर स्थलमार्गबाट आउँदा भारत र बंगलादेशका सिमा तथा भन्सारहरुमा ढिलाई हुँदा औषधि तोकिएको समयमा आइपुग्न सकेको थिएन ।

कार्कीले गएराती मेची भन्सार आएको औषधिलाई भन्सार विभागका अधिकारीहरुले रातारात काम गरेर नेपाल छिराएको बताए । ‘हिजो राती सिमा क्षेत्रमा हाम्रो औषधि बोकेको गाडी आइपुगेको थियो । हाम्रो भन्सारले एक मिनेट ढिलाई नगरी रातारात प्रक्रिया पुरा गरिदिनुभयो र राती नै गाडी नेपाल छिरयो,’ उनले भने ।

संक्रमण बढदै जाँदा नेपालमा पछिल्लो केही दिन देखि रेम्डेसिभिरको अभाव देखिएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *