वीरको सर्जिकल भवनमा कोभिड वार्ड सञ्चालनमा आउन कम्तीमा दुई साता लाग्ने

काठमाडौँ, १४ बैशाख । वीर अस्पतालको नयाँ सर्जिकल भवनमा कोभिड १९ उपचार युनिट सञ्चालनमा आउन अझै कम्तीमा दुई साता लाग्ने बताइएको छ । कोरोना संक्रमणको हटस्पट बनिसकेको काठमाडौँमा बिरामीले बेड पाउन मुस्किल भइसकेको छ ।

एक साता अघि संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले वीर अस्पतालको सर्जिकल ब्लकमा कोभिड युनिट सञ्चालन गर्न सैद्धान्तिक सहमति दिएको भन्दै तत्काल २०० बेड सञ्चालनमा आउने बताएका थिए ।

तर वीर अस्पताल प्रशासनले भने कोभिड वार्ड सञ्चालनमा ल्याउन अझै केही समय लाग्ने बताएको छ । अस्पतालकी निमित्त निर्देशक डा शान्ता सापकोटाले कोभिड – १९ को उपचारका लागि तयारी भइरहेको भन्दै कहिले देखि सञ्चालनमा आउँछ भनेर ठ्याक्कै भन्न नसकिने बताइन । उनले भनिन्, ‘यहि दिनबाट सेवा सुरु गर्दैछौँ भनेर भन्ने अवस्था छैन् । तर हामीले सकेसम्म छिटो सेवा सञ्चालनमा ल्याउने गरी काम गर्दैछौँ । छिटोमा पनि दुई साता त लाग्छ नै ।’

उनले बिरामीका लागि चाहिने बेड, अरु उपकरण बाहेक जनशक्ति व्यवस्थापन गर्न समय लाग्ने बताईन । ‘अव नयाँ भवन छ, त्यहाँ बेडहरु मिलाउनु परयो । जनशक्ति व्यवस्थापन गर्नुपरयो । समय त लाग्छ नि,’ उनले भनिन् ।

स्वास्थ्य मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा गुणराज लोहनीले पनि नयाँ सर्जिकल भवनमा कोभिड युनिट सञ्चालनमा ल्याउन केही समय लाग्ने बताए । ‘दुई साता त लाग्छ होला,’उनले भने ।

वीरले अहिले पुरानै भवनमा केही बेड कोभिडका बिरामीलाई छुट्याएर उपचार गरिरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *