कोभिड उपचारलाई लक्षित गर्दै थप २० हजार थान अक्सिजन सिलिन्डर ल्याईदै

काठमाडौँ, ९ बैशाख । कोरोनाका बिरामीलाई लक्षित गर्दै देशमा तत्काल थप २० हजार थान सिलिन्डर ल्याइने भएको छ । त्यसका लागि सरकारले अक्सिजन उद्योगीहरुलाई आवश्यक सहयोग गर्ने आश्वासन दिएको छ ।

कोरोना संक्रमण बढेपछि पछिल्लो समय छिमेकी मुलुक भारतमा समेत अक्सिजन अभाव देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले उद्योगीहरुलाई तत्काल थप २० हजार थान सिलिन्डर बढाउन निर्देशन दिइएको बताए । विहीबार स्वास्थ्य मन्त्रालयमा बसेको ग्यास उद्योगीहरुसंगको बैठकमा उनले त्यसका लागि राज्यले आवश्यक सहयोग उपलव्ध गराउने बताएका थिए ।

‘अहिलेसम्म त ठिकै छ । तर संक्रमण बढ्दै जाँदा अभाव नहोस भन्नका लागि हामीले तत्काल अक्सिजनको सिलिन्डर २० हजार थान ल्याउन भनेका छौँ । त्यो भाडोमा यहिका उद्योगबाट भर्ने काम हुन्छ । त्यसका लागि राज्यले उद्योगीहरुलाई आवश्यक सहयोग गर्नेछ,’ डा पोखरेलले भने ।

अहिलेको उत्पादनलाई दोब्बर गर्ने प्रयास
यसैबीच स्वास्थ्य मन्त्रालयले अक्सिजन उत्पादन गर्दै आएका उद्योगहरुलाई अहिलेको उत्पादनलाई दोब्बर गर्न आग्रह गरेको छ । विहीबार मन्त्रालयमा भएको द्धीपक्षीय छलफलमा उद्योगीहरुलाई यस्तो आग्रह गरिएको हो ।

‘अहिले दैनिक ५ – ६ हजार सिलिन्डर अक्सिजन ग्यास भरिदो रहेछ । तर उद्योगीहरुले अहिले नै दैनिक आठ हजारसम्म उत्पादन गर्न सक्ने क्षमता रहेको बताए । हामीले भने त्यसलाई दोब्बर अर्थात दैनिक १२ – १५ हजारसम्म पुरयाउँ भनेका छौँ । यसविषयमा आज पनि थल छलफल हुँदैछ,’ डा पोखरेलले भने ।

कोरोनाका गम्भीर बिरामीका लागि सबैभन्दा आवश्यक पर्ने चीज अक्सिजन हो । निरन्तर ठूलो मात्रामा अक्सिजन दिनुपर्ने हुनसक्ने भन्दै सरोकारवालाले अक्सिजनको व्यवस्था छिटो मिलाउन आग्रह गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *