‘स्वास्थ्य समूहको सचिव चाँडै’

काठमाडौँ, ३१ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य समूहको सचिव आफ्नो मन्त्रालयले चाँडै पाउने बताएका छन् । स्वास्थ्य समूहको सचिवको दरबन्दी नै प्रधानमन्त्री कार्यालयमा तानिएकोले केही ढिलाई भएको भन्दै अब चाँडै नै प्रक्रिया अघि बढाएर स्वास्थ्य समूहबाट नयाँ सचिव छनौट गर्ने बताएका हुन् ।

स्वास्थ्य पत्रकार मञ्च नेपालको आयोजनामा मंगलबार भएको भेटघाट कार्यक्रममा मन्त्री त्रिपाठीले भने, ‘हामीले गत महिना नै स्वास्थ्य सचिव बढुवाको प्रक्रिया अघि बढाएका थियौँ तर दरबन्दी त यहाँ रहेनछ, प्रधानमन्त्री कार्यालय लगिएको रहेछ । त्यो कुरा यहाँ कसैलाई थाहा रहेनछ, उता मुख्य सचिव पनि नयाँ भएकोले होला उहाँलाई पनि थाहा रहेनछ । त्यसले गर्दा अघि बढिसकेको प्रक्रिया रोकियो । अब त्यो दरबन्दी स्वास्थ्यमा फिर्ता गरेपछि सचिव छनौट प्रक्रिया अघि बढ्छ ।’

पत्रकारहरुले ‘यी सबै प्रक्रिया टुंगिन कति समय लाग्छ त ?’ भन्ने प्रश्नमा उनले १५ दिन जति लाग्ने जवाफ दिए ।

‘यो गत महिना नै टुंगिने वाला थियो । तर दरबन्दी उता छ भन्ने कुरा मलाई पनि थाहा थिएन र अरु कसैलाई जानकारी रहेनछ । अहिले फेरी सन्दर्भ प्राथमिकता बदलिएको छ । त्यसैले यो प्रक्रिया प्राथमिकतामा पनि छैन् भन्नुपर्छ । त्यसैले केही समय त लाग्छ नै । सायद १५ दिन जति त लाग्ला,’ उनले भने ।

मन्त्री त्रिपाठीले आफू स्वास्थ्यमा स्वास्थ्य समूहको सचिव हुनुपर्छ भन्नेमै रहेको समेत स्पष्ट पारे ।

दुई बर्ष अघि तत्कालिन सचिव डा पुष्पा चौधरीलाई प्रधानमन्त्री कार्यालयमा तानेका बेला सर्बोच्चले सो सम्वन्धी निर्णय खारेज गरेपछि पुन मन्त्रिपरिषदले स्वास्थ्यको दरबन्दी नै संसोधन गरी प्रधानमन्त्री कार्यालयमा लगेको थाहा भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *