चार दिनमा साढे २१ हजारले लगाए ‘भेरोसेल’

480
Shares

काठमाडौँ, २९ चैत ।  नेपालमा कोभिडविरुद्ध प्रयोग गरिएको चिनियाँ खोप भेरोसेल चार दिनमा २१ हजार ६८८ जनाले लगाएका छन् । सरकारले चीनबाट अनुदानमा प्राप्त गरेको यो खोपको गत २५ चैत देखि लगाउन शुरु गरेको थियो ।

खोप लगाउन काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा गरी ७ जिल्लाका २३ स्थानमा केन्द्र तोकिएको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखा प्रमुख डा झलक गौतमले शनिबारसम्म १८ बर्ष देखि ५९ बर्ष उमेर समूहका २१ हजार ६८८ जनाले खोप लगाएको पुष्टि गरे । उनले खोप लगाउन प्राथमिकता तोकिएका व्यक्तिहरुलाई खोप दिइएको बताए ।

यसअघि महाशाखाले यो खोप १८ देखि ५९ बर्ष उमेर समूहका प्राध्यापकहरु, चीनमा छात्रबृत्तिमा अध्ययन गर्ने विद्यार्थीहरु, चीनमा अध्ययन गर्न जाने तयारीमा रहेका व्यक्ति, हिमालय पार व्यापार गर्ने नेपाली व्यापारीले पाउने बताएको थियो ।

यस्तै अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, फलफुल, तरकारी लगायतका व्यापारीले पनि खोप दिइने जनाएको थियो ।

यसैगरी महाशाखामा खोपका लागि निवेदन दिएका संघसंस्थाहरु र यसअघि खोप लगाउन छुट भएका अंग्रपंक्तिमा खटिने व्यक्तिहरुले पनि यो खोप लगाउन सक्नेछन ।

यो खोप पहिलो डोज लिएको २८ दिन पछि दोस्रो डोज लिनुपर्ने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखा प्रमुख डा झलक गौतमले बताए ।

चिनियाँ खोप कम्पनी सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको सार्स कोभ–२ भ्याक्सिन (भेरोसेल) खोपको ८ लाख डोज गत १६ चैतमा नेपाल आएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *