आजबाट देशका १२ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाईंदै

काठमाडौँ, २० चैत । आजबाट देशका १२ जिल्लामा हात्तीपाइले रोग बिरुद्धको आम औषधि सेवन कार्यक्रम शुरु गर्दैछ । सरकारले हात्तीपाइले रोग निवारणका लागि आजबाट एक सातासम्म राष्ट्रिय आम औषधि सेवन कार्यक्रम शुरु गर्न लागेको हो ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार कार्यक्रम अन्तरगर्त आजबाट झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बागलुङमा औषधि खुवाइदैछ । यस्तै कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलालीमा पनि आजबाट आम औषधि कार्यक्रम सञ्चालन गरिदैछ ।

महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलका अनुसार हात्तीपाइले रोगबिरुद्धको आम औषधि सेवन कार्यक्रममा ‘डाइथाइल कार्बामाजिन’ (डिइसी) र जुकाको औषधि ‘अल्वेन्डाजोल’ नामक दुई औषधि खुवाइने छ । रगत र पेटमा भएको परिजीवि जुकालाई मार्नका लागि ती औषधि खुवाइने गरिन्छ ।

उनका अनुसार डिइसीले रगतमा रहेको परजीवि जुकालाई र ‘अल्वेन्डाजोल’ले पेटमा रहेको जुकालाई मार्ने गर्दछन् ।
महाशाखाका अनुसार औषधि सेवन कार्यक्रम अन्तरगर्त १२ जिल्लाका १२९ स्थानीय तहका ७० लाख ४५ हजार व्यक्तिलाई औषधि खुवाइने छ । औषधि खुवाउनका लागि पाँच हजार ४०० स्वास्थ्यकर्मी र नौ हजार ५०० महिला स्वास्थ्य स्वयसेविका परिचालन गरिदैछ ।

नेपालमा करिव ३० हजार हात्तिपाइले रोगी रहेका छन् । यसको नियन्त्रणका लागि सरकारले सन् २००३ देखि ती औषधि खुवाइरहेको छ ।

हात्तीपाइले रोग सङ्क्रमति पाथी लामखुट्टेको टोकाईबाट सर्ने गर्दछ । यसरोग लागेपछि मानिसलाई शारिरीकरुपमा अशक्त, असमर्थ र अपाङ्ग बनाउने गर्दछ । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीविले मानिसको शरिरमा प्रवेश गरेपछि हुने गर्दछ । परजीवि प्रवेश गरेको केही वर्षपछि मात्र यो रोगको लक्षण देखिने गर्दछ ।

शुरुमा नेपालमा ६३ जिल्ला हात्तीपाइलेको जोखिममा रहेपछि अहिले घटेर १२ जिल्लामा सिमित रहेको छ । सरकारले राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम सञ्चालन गरेर सन् २०२६ सम्म हात्तीपाइलेका रोगीलाई एक प्रतिशतमा झार्ने लक्ष्य लिएको छ । हात्तीपाइले रोग बढीजसो पुरुषको अण्डकोष सुनिने र हात तथा खुट्टा सुनिने गर्दछ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *