स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकहरुको सातौं शिखर सम्मेलन १३ र १४ जेठमा हुने

काठमाडौँ, १८ चैत । स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकहरुको सातौं राष्ट्रिय शिखर सम्मेलन आगमी १३ र १४ जेठमा हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आज बसेको बोर्ड बैठकले सातौं राष्ट्रिय शिखर सम्मेलनको मिति तय गरेको हो ।

परिषद्का कार्यकारी सदस्यसचिव डा प्रदीप ज्ञवालीका अनुसार सम्मेलनमा भौतिक उपस्थिति र अनलाइन विधिबाट सहभागिता जनाउन पाइनेछ । स्वास्थ्य तथा जनसंख्याका विषयमा नयाँ नयाँ अनुसन्धान होस् र नयाँ नयाँ बैज्ञानिकहरु तयार होउन भनेर परिषदले विगत सात बर्ष देखि बार्षिक रुपमा शिखर सम्मेलन गर्दै आएको छ ।

बैठक अघि आजै परिषद्मा आयोजित विशेष समारोहका बीच नवनियुक्त अध्यक्ष उपाध्यक्ष तथा सदस्यहरुको पदवाहाली तथा स्वागत कार्यक्रम गरिएको थियो । गत विहीबार बसेको मन्त्रिपरिषदको बैठकले परिषदको अध्यक्षमा प्राडा गेहनाथ बराल, उपाध्यक्षमा प्राडा गौरवराज ढकाल, सदस्यहरुमा डा बन्दना खनाल डा अवधेश तिवारी, डा सन्तोष शाक्य, डा रामआधार यादवलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

पदवहाली तथा स्वागत कार्यक्रममा बोल्दै नव नियुक्त अध्यक्ष प्राडा बरालले स्वास्थ्य अनुसन्धानको विषयलाई थप उचाई दिने गरी कार्यक्रम अघि सार्ने प्रतिवद्धता प्रकट गरे । ‘अनुसन्धानको विषयमा कति महत्वपूर्ण छ भन्ने कुरा यो कोभिड महामारीमै देखियो । यो बीचमा परिषदले धेरै राम्रा अनुसन्धानात्मक कार्यहरु गरेको छ । तर यतिमै सिमित गर्नु हुन्न । अझ धेरै धेरै कार्यक्रम गर्न बाँकी छ,’ उनले भने ।

उपाध्यक्ष डा ढकालले स्वास्थ्य क्षेत्रको विकासका लागि अनुसन्धानात्मक कार्यहरु निकै नै जरुरी रहेको भन्दै यसलाई थप अघि बढाउन आफ्नो टीम लागिपर्ने दावी गरे ।

परिषदका सदस्यसचिव डा प्रदीप ज्ञवालीले परिषदलाई संघीय मोडलमा विस्तार गर्न लागिएको, स्वास्थ्य अनुसन्धानका दायरा बढाइएको, जनशक्ति व्यवस्थापनमा प्रभावकारी कार्यहरु भइरहेको र आगामी दिनमा त्यसलाई अझ व्यवस्थित गर्ने गरी कार्य अघि बढाइएको बताए ।

कार्यक्रममा मानार्थ अध्यक्ष प्राडा मृगेन्द्रराज पाण्डेले स्वास्थ्य अनुसन्धान परिषद गठन गर्ने ताका भोगेका कठिनाई र अहिलेको आवश्यकताको बारेमा प्रकाश पारे । कार्यक्रममा कार्यकाल सकिएका निवर्तमान पदाधिकारीहरुलाई विदाई गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *