टेकुमा अटाएन चिनियाँ खोप, पौने पाँच लाख एयरपोर्टकै ‘कोल्ड रुम’मा राखियो

काठमाडौँ, १७ चैत । चीनबाट ८ लाख डोज कोभिडबिरुद्धको खोप आउँदा टेकु स्थित आपूर्ति व्यवस्था शाखाले बनाएको कोल्ड रुम भरिएको छ । टेकुको स्थान अभाव देखिएपछि सरकारी अधिकारीहरुले एयरपोर्ट भन्सारमा बनाइएको अर्को कोल्डरुममा राखेका छन् ।

‘टेकुमा त ३ लाख २५ हजार जति राखियो । ४ लाख ७५ हजार जति त एयरपोर्टकै कोल्डरुममा राखिएको छ,’ आपूर्ति व्यवस्था शाखाका फार्मेसी अधिकृत बढेबाबु थापाले भने । उनले चिनियाँ खोपको भोल्युम ठूलो हुँदा टेकुमा नअटेको प्रतिक्रिया दिए ।

‘भारतबाट आएको खोप कोभिसिल्ड एक भाइलमा १० डोज हुन्थ्यो । तर चिनियाँ खोप एक भाइलमा एक डोज नै छ । त्यसले गर्दा भोल्युम ठूलो भयो,’ थापाले भने ।

टेकुको कोल्ड रुममा अहिले दोस्रो डोज लगाउनका लागि भण्डारण गरि राखिएको १३ हजार भाइल (१ लाख ३० हजार डोज) कोभिसिल्ड रहेको बताइएको छ । करीव साढे ५ लाख डोजमध्ये अरु प्रदेश तहमा पठाइसकिएको छ ।

कोरोना महामारीपछि सरकारले सातै प्रदेशमा अत्याधुनिक कोल्ड रुमहरु तयार गर्ने बताएको थियो । त्यो निर्माण प्रक्रिया भने भर्खर शुरु हुँदैछ ।

कोभिडबिरुद्धको खोप अभियानमा ६० लाख बढी व्यक्तिका लागि कोभ्याक्स सुविधाले नै खोप उपलव्ध गराउने भनेको छ । यस्तै सरकार आफैले खरीद गरेको १० लाख खोप समेत आउन बाँकी छ । अरु थप ५० लाख खोप समेत खरीद गर्ने भनेको छ । यो अवस्थामा खोप भण्डारण गर्ने कोल्ड रुमको क्षमता विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *