प्रदुषण बढेपछि २० चैतसम्म देशभरका विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौँ, १६ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायुमण्डलमा देखिएको अस्वाभाविक वातावरणका कारण प्रतिकूल असर पर्न सक्ने देखिएको कारण जनाउँदै ४ दिन (२० चैत शुक्रबार)सम्मका लागि देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा आज बसेको आकस्मिक बैठकले देशभरका विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको हो । बैठकमा मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताका कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिए ।

बैठकमा शिक्षासचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्मा, सहसचिव डा हरि लम्साल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्याललगायतको थियो । बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए । लगत्तै मन्त्रालयमा भएको बैठकमा मन्त्री श्रेष्ठले लाखौँ विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकूलताको कारण सबै शिक्षण संस्था बन्द गर्नुपरेको बताए ।

बैठकले उच्च शिक्षाको अध्ययन हुने कलेज तथा विश्वविद्यालयलाई आवश्यक स्वास्थ्य सावधानी अपनाई कक्षा निरन्तर गर्न सक्ने स्पष्ट पारेको छ । यस्तै पूर्वनिर्धारित परीक्षाका कार्यक्रमलाई पनि निरन्तरता दिन सकिने जनाएको छ ।

शुक्रबारदेखि काठमाडौंसहित देशभरको वायुमण्डलमा वायुको गुणस्तर सूचकांक (एक्यूआई) अत्यधिक बढेको छ । वातावरण विभागअन्तर्गतको वायु गुणस्तर मापन केन्द्रले पनि एक्यूआईले जोखिमको तह नाघेको देखाएका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *