भारतबाट आएकाहरुको नाकामा परीक्षण गर्दा ४१ जनामा कोरोना पोजेटिभ

काठमाडौँ, १५ चैत । भारतबाट नेपाल छिर्दै गरेकाहरुको सिमा नाकामा रहेको हेल्थ डेस्कमा कोरोना परीक्षणमा ४१ जनामा पोजेटिभ देखिएको छ । पछिल्लो पाँच दिनमा गरिएको परीक्षणमा सो संख्यामा कोरोना पोजेटिभ आएको हो ।

पछिल्ला दिनमा हेल्थ डेस्कमा कोरोनासंगै मलेरियाको पनि आरडीटी परीक्षण हुन थालेको छ । शनिबारसम्म २७ जनाको मलेरिया परीक्षण गर्दा पोजेटिभ केश भने देखिएको छैन् ।

भारतमा पछिल्ला दिनमा कोरोना संक्रमणले उचाई लिएको छ । त्यहाँ हिजो (शनिबार) मात्रै ६२ हजार ७ सय भन्दा बढी नयाँ केशहरु देखिएका छन् ।हिजो एक दिनमै ३१४ जनाको कोरोनाबाट ज्यान गएको बताइएको छ । भारतमा संक्रमण उकालो लाग्दै गर्दा सरकारले सिमा नाकामा रहेका हेल्थ डेस्कलाई थप सक्रिय बनाएको थियो । पछिल्लो पाँच दिन देखि नाकामा रहेका हेल्थ डेस्कमा एन्टीजेन र आरडीटीबाट क्रमश कोरोना र मलेरियाको जाँच गर्न थालिएको थियो ।

‘हिजो शनिबार १६७ जनाको कोरोना परीक्षण गर्दा ११ जनामा कोरोना पोजेटिभ देखियो । १० जना जमुनाह र एक जना गौरीफन्टा नाकामा । त्यस्तै ज्वरो आएको तर कोरोना नभेटिएको मलेरिया परीक्षण समेत गर्न थालिएको छ । अहिलेसम्म २७ जनाको परीक्षण भयो तर पोजेटिभ देखा परेको छैन्,’ स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले भने । उनले शनिबार मात्रै २००८ स्क्रिनिङ गरेको समेत जानकारी दिए ।

सरकारले भारतका महाराष्ट्र, मध्यप्रदेश, दिल्ली, उत्तरप्रदेश लगायतका राज्यहरुमा कोरोना संक्रमण बढेपछि त्यस क्षेत्रबाट आएका नागरिकलाई प्राथमिकताका आधारमा स्क्रिनिङ गर्ने निर्देशन दिएको छ ।

पछिल्लो समय भारतसंग सिमा जोडिएका १४ वटा स्थल नाकामा हेल्थ डेस्क राखेर परीक्षणको कार्य समेत अघि बढाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती नाकाबाट नेपाल भित्रने हरेक व्यक्तिलाई १० वटाका दरले सर्जिक मास्क समेत उपलव्ध गराउने निर्णय गरिसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *