कोरोना कालमा आँखाको उपचार : शल्यक्रिया ४५ प्रतिशत, उपचारमा ६० प्रतिशतले कमी

काठमाडौँ, १३ चैत । ‘सन् २०१९ मा नेपाल नेत्र ज्योति संघले आफू मातहतका आँखा अस्पताल तथा उपचार केन्द्रको माध्यमबाट ३३ लाख २३ हजार ४४ जनाको उपचार गरेको थियो । तर, सन् २०२० मा भने सो संख्या घटेर १३ लाख १७ हजार ६३२ मा झर्‍यो । यस्तै सन् २०१९ मा २ लाख ६५ हजार ९७८ जनाको आँखाको शल्यक्रिया हुँदा सन् २०२० मा १ लाख २१ हजार ३६२ मात्रै गरियो । प्रतिशतमा हिसाव निकाल्दा अघिल्लो बर्षको तुलनामा उपचारमा ६० प्रतिशत र शल्यक्रियामा ५५ प्रतिशतले कमी देखिएको छ । कोभिड १९ को महामारीले आँखा उपचार क्षेत्रमा कसरी असर पार्‍यो भन्ने यसैबाट स्पष्ट हुन्छ,’ ४२ औँ स्थापना दिवसको अवसरमा आफ्नो प्रस्तुति गर्ने क्रममा महासचिव भरतवहादुर चन्दले जानकारी दिए ।

उनले आफ्ना २१ आँखा अस्पताल, १२६ आँखा उपचार केन्द्र र ४२ वटा जिल्ला शाखामार्फत सो सेवा उपलव्ध गराएको बताए ।

संघका अध्यक्ष प्राडा चेतराज पन्तले आँखा सेवामा विश्वमै नमूना काम गरेको नेत्रज्योति संघले कोभिड महामारीका बेलामा समेत उत्कृष्ठ कार्य गरेको बताए । उनले यसबर्ष उपचार सेवा लिने अधिकांश बिरामी स्वदेशी रहेको बताए । ‘अघिल्ला बर्षहरुमा हाम्रा अस्पतालहरुमा आँखा उपचार सेवा लिने भारतीय, बंगलादेशी र भुटानी समेत हुन्थे । तर यसपटक ती देशबाट बिरामी आउन पाएनन् । यसबर्ष जे जति उपचार भयो त्यो सबै नेपालीहरु हुन्,  उनले स्पष्ट पारे । उनले आगामी पाँच बर्ष भित्र नेपाल सरकारको साझेदारी र समन्वयमा ६७७ वटा आँखा उपचार केन्द्र र २२ वटा आँखा उपचार केन्द्रहरुलाई सेकन्डरी लेभलको आँखा अस्पतालमा स्तरोन्नती गर्ने लक्ष्य लिएको बताए ।

कार्यक्रममा नेत्रज्योति संघका संस्थापक डा रामप्रसाद पोखरेलले ४२ बर्षको अवधिमा संघले आँखा उपचार क्षेत्रमा गरेको सेवा उत्कृष्ठ रहेको भन्दै खुशी व्यक्त गरे । उनले सेवालाई थप विकास र विस्तार गर्न अहिलेको आवश्यकता रहेको बताए ।

संघले यसबर्ष गण्डकी प्रदेश सरकार, तुलसीपुर उपमहानगरपालिका दाङ, बरिष्ठ समाजसेवी श्रीजंग शाह, अर्विस इन्टरनेशनल, विराटनगर आँखा अस्पताल, भरतपुर आँखा अस्पताललाई सम्मान गर्ने निर्णय गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *