नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिलाई अब नाकामै १० वटा मास्क दिईने


काठमाडौँ, १२ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थल सिमा नाकाबाट नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिलाई १० वटा मास्क दिने निर्णय गरेको छ । बुधबार बसेको आईसीएस कमाण्डको बैठकले सो निर्णय गरेको हो ।

आइसीएस कमाण्डका अध्यक्ष एवं स्वास्थ्य सचिव लक्ष्मण अर्यालले सिमानाकाका हेल्थ डेस्कका बस्ने स्वास्थ्यकर्मीले नेपाल छिर्ने प्रत्येकलाई उपलव्धताको आधारमा ५ देखि १० थान मास्क दिने व्यवस्था मिलाएको बताए । उनले हेल्थ डेस्कमा बस्ने स्वास्थ्यकर्मीहरुले नेपाल छिर्दै गरेका नागरिकलाई मास्क दिएकै बखत घरमा गएर १० दिन छुट्टै बस्न समेत आग्रह गर्ने जानकारी दिए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले कोरोनाको सम्भावित संक्रमण रोक्न मास्कको निकैनै महत्वपूर्ण भूमिका हुने भन्दै यो निर्णयले सम्भावित जोखिम हटाउन मद्धत पुग्ने विश्वास व्यक्त गरे । ‘मास्क नलाउनु भन्दा मास्क लगाउनु त कति हो कति राम्रो । सरकारले १० १० थान दिएर पठाउँदा त्यसको सही प्रयोग गर्न सकियो र घरमा गएर पनि १० दिन छुट्टै बसियो भने सम्भावित संक्रमण हुने जोखिम हटेर जान्छ,’ उनले भने ।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुंगानाले मन्त्रालयको निर्णय अनुरुप सिमा नाकामा मास्क पठाइने जानकारी दिए । ‘१४ -१५ लाख हामीसंग अहिले पनि मौज्दात छ । केही समय अघि २ – ३ लाखको दरले प्रदेशहरुमा पनि पठाइएको छ । त्यहाँबाट पनि सिमामा पठाउन सकिने भयो, थप मास्क हामीले किनेर पनि पठाउन सक्छौँ । अहिलेलाई मास्क अभाव छैन्,’ उनले भने ।

पछिल्लो दिन भारतमा एक दिनमै ५० हजार बढीमा संक्रमण देखिन थालेपछि खुल्ला सिमा रहेको नेपालमा समेत त्यसको प्रभाव देखिने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

इपिडिमियोलोजीका अनुसार पछिल्लो चार दिनमा भारतीय सिमा नाकाबाट नेपाल प्रवेश गर्दै गर्दा सिमा नाकाको हेल्थ डेस्कमा एन्टीजेन परीक्षण गर्दा २४ जनामा संक्रमण देखिएको छ ।

नेपालमा विभिन्न स्थल नाकाबाट दैनिक ३५०० देखि ४००० सम्म नागरिकहरु नेपाल प्रवेश गर्दछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *