चार प्रकारका व्यक्तिलाई निःशुल्क उपचार


डोटी, २ चैत । जिल्ला अस्पताल डोटीमा चार प्रकारका व्यक्तिको निःशुल्क स्वास्थ्य उपचार हुने भएको छ ।

निःशुल्क स्वास्थ्य उपचार सेवा दिन थालेपछि अस्पतालमा अहिले ज्येष्ठ नागरिक, एकल महिला, ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्तिको चाप बढ्न थालेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताए ।

उनले भने, “हामीले चार प्रकारको समस्या भएका व्यक्तिलाई निःशुल्क उपचार गर्ने भएका छौँ, यो सुदूरपश्चिम प्रदेशकै पहिलो निर्णय हो ।” उनका अनुसार जिल्ला अस्पतालमा उपचार गराउन आउने चार प्रकारका व्यक्तिलाई नाम दर्तादेखि चिकित्सकीय तथा भिडियो एक्स–रे र प्रयोगशालामा कुनै पनि प्रकारको शुल्क तिर्नु नपर्ने व्यवस्था गरिएको छ ।

स्वास्थ्य सेवा लिन आउने उक्त प्रकारका व्यक्तिले आफनो परिचय खुल्ने कागजात भने अनिवार्य रुपमा ल्याउनुपर्ने व्यवस्था गरिएको बताइएको छ । जिल्ला अस्पतालको स्वास्थ्य सेवा थप प्रभाबकारी बनाउनका लागि अस्पताल व्यवस्थापन समितिले नयाँ चिकित्सक भर्ना गर्ने निर्णयसमेत गरेको छ । अस्पतालको विकास तथा थप सुधारका लागि चार प्रकारका समस्या परेका व्यक्तिलाई निःशुल्क उपचार गर्ने निर्णय गरी सेवा कार्यान्वयनमा ल्याइएको जिल्ला अस्पतालका नायब सुब्बा लोकेन्द्र विष्टले बताए ।

उनले भने, “सुदूरपश्चिमका अस्पतालमा सेवा प्रभावकारी भएन, गरीबलाई निःशुल्क उपचार भएन भन्ने कुरालाई चिरफार गर्न र हाम्रो अस्पतालको सेवा थप सुधार गर्न नयाँ सेवा दिने योजना कार्यान्वयन गरेका छौँ, आशा छ सबैले सरल र सहज सेवा पाउने छन् ।”

प्रदेश सरकार सामजिक विकास मन्त्रालयअन्तर्गत रहेको जिल्ला अस्पतालमा पछिल्लो समय स्वास्थ्य सेवामा वर्षेनी सुधार हँुदै आएको अस्पताल प्रशासनको दाबी छ । अस्पतालले ज्येष्ठ नागरिक, एकल महिला, ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क उपचार गर्ने निर्णय गरेपछि यहाँका स्थानीयवासी निकै खुशी भएका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *