कोरोनाबिरुद्धको खोप अभियान : एघारौँ दिनमा खोप लगाउनेको संख्या १ लाख ८४ हजार

काठमाडौँ, २५ माघ । गत १४ माघ देखि कोरोनाबिरुद्धको खोप अभियान शुरु गरेको सरकारले एघारौँ दिन शनिबारसम्म आईपुग्दा १ लाख ८४ हजार ८५७ जनालाई खोप दिएको छ । यो संख्या स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा लिएको लक्ष्यको ४३ प्रतिशत मात्रै हो ।  मन्त्रालयले पहिलो चरणको अभियान शुरु भएको १० दिनमा सकिने र त्यसबेला ४ लाख ३० हजार जनाले खोप पाउने बताएको थियो ।

मन्त्रालयले पहिलो चरणमा कोरोनाबिरुद्ध खटिएका फ्रन्टलाइन हेल्थ वर्कर, एम्बुलेन्स तथा सव वहान चालक, सरसफाई कर्मचारी, जेलका कैदी, बृद्धाश्रममा रहने बृद्धबृद्धालाई खोप दिएको थियो । अझ पछिल्लो पटक नेपाल मेडिकल काउन्सिल, फार्मेसी काउन्सिल, नर्सिङ काउन्सिल, आयुर्वेद चिकित्सा परिषद र नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता भएका सबै स्वास्थ्यकर्मीहरुले खोप लिन सक्ने बताएको थियो । तर अपेक्षाकृत रुपमा खोप लगाउने संख्या अघि देखिएन ।

मन्त्रालयले अब सोमबारबाट कुटनीतिक नियोगमा कार्यरत स्वदेशी तथा विदेशी कर्मचारी र पत्रकारलाई दिने योजना अघि सारेको छ । ‘स्वास्थ्यकर्मीहरुलाई पहिलो प्राथमिकतामा राखेर हामीले एघार दिन देखि दियौँ । अब अहिलेलाई उहाँहरुको पालो सकियो । अब अर्को समूहलाई खोप दिदै छौँ,’ मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भने ।

भारत सरकारले १० लाख डोज खोप अनुदान दिएपछि नेपालमा खोप अभियान सुरु भएको थियो । अभियानमा सघाउन चीनले ५ लाख डोज खोप उपलव्ध गराउने बताएको छ ।

यता सरकारले सिरम इन्स्टिच्युटबाट थप खोप खरीद गर्ने, कोभ्याक्स फेसिलिटीबाट थप २० प्रतिशत जनतालाई पुग्ने खोप आउने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *