होम आइसोलेसनमा बसेका अधिकांश कोरोना संक्रमितको औषधि गुर्जो र बेसार !
काठमाडौँ, २३ पुस । कोरोना संक्रमणमा परि होम आइसोलेसनमा बसेका अधिकांश संक्रमितले औषधिको रुपमा गुर्जो र बेसार प्रयोग गरेको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको होम आइसोलेसनमा रहेका बिरामीको स्वास्थ्यस्थित अध्ययन् प्रतिवेदनबाट यस्तो खुृलासा भएको हो ।
परिषद्ले यस सम्वन्धी प्रतिवेदन विहीबार सार्वजनिक गरेको थियो ।
परिषदका कार्यकारी सदस्यसचिव डा प्रदीप ज्ञवालीका अनुसार अध्ययनमा कोरोना संक्रमणमा परेर होम आइसोलेसनमा बसेका ५३६ जना सहभागी थिए । त्यसमा ५७.८ प्रतिशत पुरुष र ४२.२ प्रतिशत महिला थिए ।
‘ती मध्ये ५९.३ प्रतिशतले घरेलु उपचारको रुपमा गुर्जो र बेसार प्रयोग गर्ने गरेको पाइयो,’ डा ज्ञवालीले बताए । उनका अनुसार ५.६ प्रतिशतले आयुर्वेदिक र २९.६ प्रतिशतले एलोपेथिक औषधि प्रयोग गरेका थिए ।
डा ज्ञवालीले ५८.२ प्रतिशतले होम आइसोलेसनमा बस्दा मानसिक रुपमा अशान्ति भएको बताएका थिए । १.२ प्रतिशतलाई कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्या भएको पाइयो ।
यस्तै ९५.९ प्रतिशत संक्रमितलाई परिवारले नै स्याहार गरेको पाइएको थियो । आइसोलेसनमा बसेकामध्ये १२.५ प्रतिशतले सामाजिक दूरी पालना नगरेको बताएका थिए ।
अध्ययनमा सहभागीमध्ये २१.१ प्रतिशतमा दीर्घ तथा संक्रामक रोग जस्तै सुगर, दम र क्षयरोग एचआईभी संक्रमणको समेत समस्या थियो ।
सम्पर्क इमेल : [email protected]